नयाँरोड – सर्लाहीको नयाँरोडमा मंगलबार दिउँसो साइकल यात्रीलाई जोगाउन खोज्दा एउटा मालबाहक ट्रक पुलमुनी खसेको छ ।
किराना समान बोकेर पश्चिमतर्फबाट आइरहेको ना ५ ख ४२२५ नम्वरको ट्रक अगाडि रहेका साइकल यात्रीलाइ जोगाउन खोज्दा नयाँरोडस्थित हरिवन र बागमती नगरपालिकाको सीमामा पर्ने हरिवन राईखोलाबाट तल खसेको हो । ट्रक पुलको रेलिङ भत्काएर तल खोलामा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा ट्रक चालक मकवानपुरका २४ वर्षीय नवराज गौतम घाइते छन् । घाइते गौतमको हरिवनमा उपचार चलिरहेको छ । साइकल यात्री भने सकुशल रहेका छन् ।
घटनास्थलमा पुगेका ट्राफिक प्रहरी निरीक्षक केदारमान दोङले दुर्घटनामा ठूलो मानवीय क्षति टरेको बताए । पुलमुनी खसेको ट्रक खोलामा गएर पल्टिएको ट्राफिक प्रहरी निरीक्षक दोङले उज्यालो अभियानलाई जानकारी दिए ।