??????
लालबन्दी – प्रहरीले सर्लाहीको लालबन्दीबाट मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–५, का २९ वर्षीय सूर्यदीप चौधरी, सोही ठाउँका १९ वर्षीय रुपेश माझी मुसहर र लालबन्दी नगरपालिका–१५ का २९ वर्षीय सोमबहादुर रेग्मी रहेका छन् । उनीहरुलाई लालबन्दी नगरपालिका–५, बस्ने ज्ञानबहादुर क्षेत्रीको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको हो ।
यही माघ ७ गते मध्यराती ज्ञानबहादुरले आफ्नै घरको बरण्डामा पार्किङ गरेर राखेको प्रदेश २–०३–००१ प १०१९ नम्वरको १२५ सीसीको होण्डा साइन मोटरसाइकल चोरी भएको थियो । उक्त मोटरसाइकल चोरी भएको सूचना पाएपछि खोजतलास गर्नेक्रममा चोरी भएको मोटरसाइकलसहित चोरीमा संलग्न तीनै जनालाई सोमबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा सूर्यदीप र रुपेशले मोटरसाइकल चोरी गरेको र सोमबहादुरले चोरीको मोटरसाइकल हो भन्ने जान्दाजाँदै १७ हजार रुपैयाँमा किनेर चढेको पाइएको र यससम्वन्धमा थप अनुसन्धान जारी रहेको लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले बताए ।