logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

नवगठित अनेरास्ववियू सर्लाही जिल्ला कमिटीको पहिलो बैठक सम्पन्न


  • उज्यालो अभियान

हरिवन – नेकपा एमाले निकट नवगठित अनेरास्ववियू सर्लाही जिल्ला कमिटीको मंगलबार पहिलो बैठक हरिवनमा सम्पन्न भएको छ ।

हरिवन नगरपालिका वडा नं. ११ को सभा हलमा बैठक बसेको हो । अनेरास्ववियू सर्लाहीका नवनिर्वाचित अध्यक्ष प्रज्वल ढुंगानाको अध्यक्षतामा बसेको बैठकले अगुवा नेताहरुसँग छलफल गरी मिति र स्थान तय गरेर युवा विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गर्ने, आगामी दिनमा बस्ने अनेरास्ववियू जिल्ला कमिटीको बैठकमा आमन्त्रितको रुपमा पालिका र क्षेत्रीय कमिटीका पदाधिकारीहरुलाई पनि राख्ने, कोरोना भाइरसविरुद्ध र खोपबारे सचेतना जगाउन स्थानीय तहहरुसँग समन्वय गरेर सचेतनामूलक कार्यक्रम गर्ने लगायतका निर्णयहरु भएका छन् ।

यस्तै, बैठकले युवा विद्यार्थीहरुका लागि मौरिपालन सम्वन्धि तालिम प्रदान गर्ने निर्णय पनि भएको अनेरास्ववियू सर्लाहीका सचिव आशिषबाबु दाहालले जानकारी दिए । सो तालिमको संयोजन मौरीपालक किसान समेत रहेका अनेरास्ववियू हरिवन नगर कमिटीका अध्यक्ष सुशील मैनालीले गर्ने निर्णय भएको छ ।

अनेरास्ववियूका स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश सहइन्चार्ज उज्वल कार्कीको प्रमुख आतिथ्यतामा आयोजित बैठकमा अनेरास्ववियू मधेस प्रदेश अध्यक्ष तथा स्थायी कमिटी सदस्य अन्जना शिवाकोटी, अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज सरोजबाबु न्यौपाने, अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य श्रीकृष्ण उप्रेती, अनेरास्ववियूका केन्द्रीय सदस्य शिवहरि गौतम र समिमबाबु पठानको उपस्थिति रहेको थियो ।