लालबन्दी – बाक्लो हुस्सु लागेर शित झरिरहेकाले सर्लाहीमा सुक्रबार बिहानैबाट कठ्यांग्रिदो चिसो छ ।
जिल्लाको पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा पर्ने लालबन्दी, नवलपुर, हरिवन, बागमती तथा मध्यभागमा पर्ने बरहथवा, बयलवास र दक्षिणी बेल्टमा पर्ने सदरमुकाम मलंगवासहितका क्षेत्रमा बिहानैबाट बाक्लो हुस्सु लागिरहेको हो । यस क्षेत्रमा बिहानपख बाक्लो हुस्सु लागेपनि बिगत ३ दिनदेखि भने मध्यान्हपछि भने पारिलो घाम लाग्ने गरेको थियो । सुक्रबार भने घाम लागेको छैन् ।
हुस्सु लागेर अत्यधिक शित झरेको सुक्रबार बिहान ७ बजेको समयमा सर्लाहीको न्यूनतम तापक्रम १४ डिग्री सेल्सीयस मापन गरिएको छ । गएको मंगलबार सर्लाहीको तापक्रम यस वर्षकै सबैभन्दा कम १० डिग्री सेल्सीयस मापन गरिएको थियो ।
बिहीबार राती जिल्लाको उत्तरी चुरेभेगमा केहीबेर हल्का वर्षा समेत भएको स्थानीयवासीले बताएका छन् । एक साता अघिबाट बढेको चिसोले आयस्रोत कम भएका र दैनिक मजदुरीमा निस्कनु पर्ने परिवार बढी प्रभावित भएका छन् ।
चिसो बढेपछि जिल्लाको लालबन्दी, कविलासी, चन्द्रनगर, ब्रम्हपुरी लगायतका पालिकाहरुमा विद्यालय बन्द गरिएका छन् ।