कार्यक्रमका प्रमुख अतिथि कांग्रेस केन्द्रीय उपसभापति धनराज गुरुङसहितका अन्य नेताहरु । (तस्बीर : उज्यालो अभियान)
सागरनाथ – सर्लाहीको सागरनाथमा बिहीबार नेपाली कांग्रेस क्षेत्र नं. १ को पदस्थापन कार्यक्रम सम्पन्न भएको छ
केही साताअघि बयलबासमा सम्पन्न पार्टीको १ नम्वर क्षेत्रको क्षेत्रीय अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको बिहीबार पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । पार्टीका केन्द्रीय उपसभापति धनराज गुरुङको प्रमुख आतिथ्यतामा ईश्वरपुर नगरपालिका–४, सागरनाथस्थित खाल्टे बजारमा कार्यक्रम सम्पन्न गरिएको नवनिर्वाचित क्षेत्रीय सभापति हरि बहादुर लुंगेलीले जानकारी दिए ।
बिहीबारको पदस्थापन पश्चात ईश्वरपुर नगरपालिका १२ कालिन्जोर घारिबथान निवासी लुंगेली नेतृत्वको क्षेत्रीय कार्य समितिले क्षेत्र नं. १ को नेतृत्व सम्हालेको छ । संस्थापन इतर अर्थात् रामचन्द्र पौडेल समूह निकटका लुंगेली संस्थापन पक्षका उम्मेदवार कुवेर आचार्यको प्यानललाई पराजित गर्दै क्षेत्रीय सभापतिमा बिजयी भएका थिए ।
यसअघि घारिबथानकै प्रमोद बरालको नेतृत्वमा १ नम्वर क्षेत्रको क्षेत्रीय कार्य समिति रहेको थियो । यस्तै, बिहीबारकै कार्यक्रममा नवनिर्वाचित कार्य समितिले यसअघिको कार्य समितिलाई सफलतापूर्वक क्षेत्रीय अधिवेशन गराएकोमा धन्यवाद् समेत ज्ञापन गरेको छ ।
कार्यक्रममा अन्य पार्टी परित्याग गरी करिव डेढ सय जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका कार्यक्रम संचालक एवं पार्टीको महाधिवेशन प्रतिनिधि योगराज देवकोटाले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि नवनिर्वाचित केन्द्रीय उपसभापति गुरुङ हेलिकप्टरबाट सागरनाथ आएका थिए ।
उनी विमानमार्फत सिमरा विमानस्थलमा ओर्लिएर आउने कार्यक्रम भएपनि मौसम खराबीका कारण प्लेन डिले भएपछि हेलिकप्टरबाट आएका हुन् । कार्यक्रमलाई छोटो सम्वोधन गरेका नेता गुरुङले हरेक प्रकारका भ्रष्टाचारका विषयमा छानबिन हुनुपर्नेमा जोड दिए ।
अहिले विभिन्नखाले भ्रष्टाचार र अनियमितताको कुरा उठिरहेको भन्दै उनले जात, धर्म र अनुहार नहेरी छानबिनलाई प्रभावित पार्न नहुने तर्क गरेका छन् ।