लालबन्दी – नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय उपसभापति धनराज गुरुङ बिहीबार (आज) सर्लाही आउँदै छन् ।
पार्टीको सर्लाही क्षेत्र नं. १ ले आज ईश्वरपुर नगरपालिका–४, सागरनाथ खाल्टे बजारमा आयोजना गरेको पदस्थापन तथा धन्यवाद् ज्ञापन कार्यक्रमलाई सम्वोधन गर्न कांग्रेसका वौद्धिक नेताको रुपमा चिनिने गुरुङ सर्लाही आउन लागेका हुन् । केही साताअघि सम्पन्न पार्टीको क्षेत्रीय अधिवेशनबाट निर्वाचित क्षेत्रीय कार्य समितिका पदाधिकारीहरुको पदस्थापन र अधिवेशन गराउने यसअघिको कार्य समितिलाई धन्यवाद् दिन कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. १ का नवनिर्वाचित क्षेत्रीय सभापति हरि बहादुर लुंगेलीले जानकारी दिए ।
विमानमार्फत सिमरा विमानस्थलमा ओर्लिएर सर्लाही आउने केन्द्रीय उपसभापति गुरुङ बिहीबार सर्लाहीमै बसेर सुक्रबार (भोली) फर्किनुहुने क्षेत्रीय सभापति लुंगेलीले बताए । केन्द्रीय महाधिवेशनपछि सर्लाहीमा कांग्रेसका शिर्ष नेताको सर्लाहीमा हुन लागेको यो पहिलो सम्वोधन समेत हो ।