मनोकामनाको १६ आँै साधारण सभामा मन्तव्य राख्दै संस्थाका अध्यक्ष शम्भुलाल श्रेष्ठ । (तस्बीर : उज्यालो अभियान)
हरिवन – सर्लाहीको हरिवन नगरपालिकामा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बुधबार १६ औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
हरिवन नगरपालिका–१, भोक्टेनीमा संस्थाले नै सञ्चालन गरेको मनोकामना आवाशिय विद्यालय परिसरमा संस्थाको साधारण सभा कार्यक्रम सम्पन्न गरिएको हो । संस्थाका अध्यक्ष एवं पुर्वमन्त्री शम्भुलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरुदेव चूडालको प्रमुख आतिथ्यता रहेको थियो ।
साधारण सभाको अवसरमा बाल बचतमा प्रथम, द्धितिय र तृतिय हुने क्रमशः आकृष उप्रेतिलाई नगद १० हजार, कृश्चल ओम पोतेलाई नगद ७ हजार, सृजा श्रेष्ठलाई ४ हजार नगद, प्रमाण पत्र र मायाको चिनो प्रदान गरी सम्मान गरिएको छ । त्यस्तै संस्थाका उत्कृष्ट बचतकर्ता दिवाकर पौडेल, नियमित तथा उत्कृष्ट तवरले ऋण तिर्ने उत्कृष्ट ऋणी संगिता पाठक र संस्थाका उत्कृष्ट कर्मचारी डिल्ली बहादुर पौडेललाई दोसल्ला ओढाई प्रंशसा पत्रसहित सम्मान गरिएको संस्थाले जनाएको छ ।
सभामा संस्थाले गत आर्थिक वर्ष २०७७/०७८ ३८ करोड ९५ लाख ७३ हजार ५९० रुपैयाँ ३४ पैसा कूल कारोबार गरी १ करोड ५६ लाख ४३ हजार ३७० रुपैयाँ ५६ पैसा खूद मुनाफा आर्जन गरेको संस्थाका प्रवन्धक सन्तोष पाण्डेले जानकारी दिए ।