logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

मन्त्रीमा नअटाएका प्रमोद साहलाई प्रमुख सचेतकको ‘पुरस्कार’


  • उज्यालो अभियान

संघीय सांसद् प्रमोद साह ।

हरिवन – सर्लाही क्षेत्र नम्बर १ का संघीय सांसद् प्रमोद साह जनता समाजवादी पार्टी(जसपा) नेपालको संसदीय दलको प्रमुख सचेतकमा नियुक्त भएका छन् ।

जसपा अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादवले साहलाई सोमबार पार्टी संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । पार्टीको संसदीय दलको विधान २०७८ को धारा १३ (१) अनुसार सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य रहेका शाहलाई दलको प्रमुख सचेतकमा नियुक्त गरिएको जसपाले जनाएको छ ।

तत्कालिन राजपामा आवद्ध सांसद् साह राजपा र संघीय समाजवादी पार्टी एकीकरण पश्चात स्वतः जनता समाजवादी पार्टीको सांसद् भएका थिए । केही समयअघि तत्कालिन राजपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो लगायतको नेतृत्वमा जसपाबाट टुक्रिएर लोकतान्त्रिक समाजवादी पार्टी गठन गरिएपनि सांसद् साह भने उक्त समूहमा गएनन् । साहले आफूसहित तत्कालिन राजपा सम्बद्ध ६ जना सांसद्लाई जसपामै राख्न सफल भएका थिए ।

जसपा सम्बद्ध एक नेताका अनुसार क्याबिनेट मन्त्री दिने शर्तमा साहले आफू सहित ६ जना सांसद्लाई जसपामा रोकेपनि मन्त्रिपरिषद् गठन हुने अन्तिम समयमा जसपाको तर्फबाट उनी मन्त्रीको सूचीबाट हटाईएका थिए । एक नेताका अनुसार सर्लाही क्षेत्र नम्बर २ का सांसद् हाल कृषि मन्त्री महेन्द्र रायले अडान लिएका कारण एउटै जिल्लाबाट दुई–दुईजना क्याबीनेट मन्त्री दिन नमिल्ने भएपछि पार्टीले सांसद् साहलाई मन्त्रीको अन्तिम सूचीबाट हटाएको थियो । पछिल्लो पटक मन्त्रिपरिषद पुनर्गठन हुँदा जसपाको तर्फबाट मन्त्री हुनेको लिष्टमा साहको नाम समेत जोडेर विभिन्न संचारमाध्यममा समाचार आएपनि अन्तिममा उनको नाम हटाईएको थियो ।

अन्ततः जसपाले क्याबिनेट मन्त्री सरहकै सुविधा रहने संसदीय दलको प्रमुख सचेतकमा साहलाई नियुक्त गरेर मन्त्री बनाउन नसकेको ‘ऋण’ तिरेको छ । सांसद् साहले पार्टी अध्यक्ष उपेन्द्र यादव सम्पुर्ण नेताहरुमा हार्दिक अभार प्रकट गर्दै प्राप्त जिम्मेवारी थप चुनौतीपूर्ण भएकाले इमानदारी पुर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।