पक्राउ परेका मोटरसाइकल चालक
नवलपुर – पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर लच्कामा १७ दिनअघि एक वृद्धालाई ठक्कर दिएर फरार भएका मोटरसाइकल चालक बिहीबार पक्राउ परेका छन् ।
गएको मंसिर २८ गते नवलपुरको लच्कामा पूर्वबाट पश्चिमतर्फ गइरहेको मोटरसाइकलको ठक्करबाट लालबन्दी नगरपालिका १ बस्ने ७८ वर्षीया सीता माया बस्नेत गम्भीर घाईते भएकी थिइन् । बस्नेत भरतपुरमा उपचार गराएर पुस ८ गते डिस्चार्ज भई अहिले घरमै छिन् ।
परिवारका अनुसार दुर्घटनापछि घाईते बस्नेतले आँखा मात्रै हेर्ने तर मान्छेलाई चिन्न नसक्ने, मुखबाट खाना खान नसक्ने र शरीरको कुनै पनि भाग चल्न नसक्ने भएकाले अवस्था गम्भीर रहेको छ । उक्त दुर्घटना गराएर फरार रहेका मोटरसाइकल चालक बरहथवा नगरपालिका ५ का ४२ वर्षीय रामबाबु महतोलाई प्रहरीले बिहीबार १७ दिनपछि पक्राउ गर्न सफल भएको हो ।
ल्याब टेक्निसियन रहेका महतोलाई बिहीबार पसलबाट पक्राउ गरेर ल्याइएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्सपेक्टर) निर्मल थापाले जानकारी दिए । गम्भीर दुर्घटना गराएर फरार मोटरसाइकल चालक महतो र उनले प्रयोग गरेको प्रदेश २ ०३ ०२० प ३८६७ नम्वरको मोटरसाइकल निरन्तर खोजी गर्दा बिहीबार बल्ल फेला परेको प्रहरी निरीक्षक थापाले बताए ।
लालबन्दीका प्रहरी निरीक्षक थापाकै कमाण्डमा हालसम्म लालबन्दीसहित हरिवन, बागमती लगायतका क्षेत्रमा दुर्घटना गराएर फरार ७ वटा घटनाका चालक र सवारी पक्राउ परिसकेका छन् ।