logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

कांग्रेस प्रदेश दुई समितिमा सर्लाहीबाट पदाधिकारी सहित ६ जना विजयी


  • उज्यालो अभियान

कांग्रेस प्रदेश दुई समितिमा निर्वाचित सर्लाहीका नेताहरु ।

हरिवन – नेपाली कांग्रेस प्रदेश नम्बर दुईको नेतृत्व चयनका लागि सम्पन्न मतदानको मतपरिणाम अनुसार सर्लाहीका ६ जना निर्वाचित भएका छन् । कांग्रेसको प्रदेश समितिमा सर्लाहीबाट १ उपसभापति एवं ५ जना सदस्यको प्रतिनिधित्व भएको छ ।

प्रदेश उपसभापतिमा प्रदेश दुई सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंह विजयी भएका छन् । उनले १०१९ मत प्राप्त गरे ।

त्यस्तै खुला सदस्यतर्फ ७६९ मत सहित रामबाबु साह विजयी भएका छन् भने दलिततर्फ ७२६ मत सहित मदनबहादुर विक, थारुतर्फ ८२९ मत सहित उदयनारायण चौधरी विजयी भएका छन् । त्यसैगरी भुगोलतर्फ ८०३ मत सहित जसोधा कुमारी र ७१९ मत सहित धर्मलाल राय विजयी भए ।

यसअघि खुला सदस्यतर्फ लालबन्दी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष समेत रहेका कांग्रेस नेता सुरेन्द्रकुमार न्यौपाने विजयी भनिएपनि निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम मत परिणाममा भने न्यौपानेले विजयी मत प्राप्त गर्न नसकेको देखिएको छ । थारु तर्फ प्रदेश सदस्यमा निर्वाचित उदयनारायण चौधरी बाहेक सबै निर्वाचित संस्थापन(प्रम शेरबहादुर देउवा) प्यानलका हुन् ।

शेखर कोइराला–विमलेन्द्र निधी प्यानलबाट उपसभापतिमा उम्मेद्वारी दिएका विनोद खनाल तथा महामन्त्रीका उम्मेद्वार हरेस महतो भने पराजित भएका छन् । त्यस्तै दुवै प्यानलबाट प्रदेश सदस्यमा उम्मेद्वारी दिएका अन्य आधा दर्जन नेताहरु पराजित भएका छन् ।

सर्लाहीमा कांग्रेसको पालिका र जिल्ला तहको अधिवेशन हुन बाँकी छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले सर्लाही सहित मुलुकभर बाँकी रहेका १६ वटा जिल्लाको जिल्ला अधिवेशन आगामी पुस २७ गते गर्ने कार्यतालिका सोमबार प्रकाशित गरिसकेको छ ।