जनकपुर – नेपाली कांग्रेस प्रदेश नम्बर दुईको नेतृत्व चयनका लागि जारी अधिवेशनमा सर्लाहीबाट पनि प्रमुख पदाधिकारी सहित विभिन्न पदहरुमा उल्लेख्य संख्यामा उम्मेद्वारी परेको छ ।
मंगलबार राती प्रकाशित उम्मेद्वारहरुको नामावली अनुसार प्रदेश उपसभापतिमा संस्थापन अर्थात प्रधानमन्त्री एवं केन्द्रीय सभापति शेरबहादुर देउवाको पक्षबाट प्रदेश २ सरकारका महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले उम्मेद्वारी दिएका छन् । सर्लाही क्षेत्र नम्बर ४ क बाट प्रदेश सभा निर्वाचित भएका सिंह नेपाली कांग्रेस सर्लाहीका उपसभापति सुरेन्द्र सिंहका भाई समेत हुन् । उनीसँगै नेपाली कांग्रेस सर्लाहीका पूर्व जिल्ला उपसभापति एवं हाल महाधिवेशन प्रतिनिधि रहेका विनोद खनालले समेत प्रदेश उपसभातिमा उम्मेद्वारी दिएका छन् । उनी संस्थापन ईतर शेखर कोईराला र विमलेन्द्र निधी पक्षबाट उम्मेद्वार बनेका हुन् । दुईजना निर्वाचित हुने उपसभापति पदमा ५ जनाको उम्मेद्वारी परेको छ ।
त्यस्तै महामन्त्रीमा सर्लाही क्षेत्र नम्बर ३ का नेता हरेस महतोले उम्मेद्वारी दिएका छन् । उनले शेखर–निधी प्यानलबाट उम्मेद्वारी दिएका हुन् । दुईजना निर्वाचित हुने महामन्त्री पदमा ५ जनाको उम्मेद्वारी परेको छ ।
त्यसैगरी खुला प्रदेश सदस्यतर्फ लालबन्दी नगरपालिका– १ का वडाध्यक्ष सुरेन्द्र कुमार न्यौपाने, रामबाबु साह, ईश्वरपुर निवासी पत्रकार प्रकाश मैनाली, धर्मनाथ राय लगायत अन्यले समेत उम्मेद्वारी दिएका छन् । १४ जना निर्वाचित हुने खुला प्रदेश सदस्यका लागि ४९ जनाको उम्मेद्वारी परेको छ ।
त्यस्तै प्रदेश सदस्य खसआर्यतर्फ नेपाली कांग्रेस सर्लाहीको हरिवन निवासी युवा नेता निरमुनी मैनालीले उम्मेद्वारी दिएका छन् भने प्रदेश सदस्य दलित खुला तर्फ ईश्वरपुर नगरपालिका कालिञ्जोर निवासी मदन विश्वकर्माले उम्मेद्वारी दिएका छन् । १ जना निर्वाचित हुने खसआर्य तर्फको प्रदेश सदस्य पदमा ४ जनाको उम्मेद्वारी परेको छ भने ३ जना निर्वाचित हुने प्रदेश सदस्य दलित खुलामा १० जनाको उम्मेद्वारी परेको छ । दुईवटै टिमबाट सर्लाहीका १६ जना उम्मेद्वार रहेकाे बताईएकाे छ । अधिवेशनमा जम्मा १८० जनाले उम्मेद्वारी दिएका छन् ।
सर्लाही क्षेत्र नम्बर ३ मा को शक्तिशाली बन्ने दौडमा सँधै एकअर्का विरुद्ध मोर्चाबन्दी गर्दै आएका कांग्रेस सर्लाहीका पूर्व जिल्ला उपसभापति एवं महाधिवेशन प्रतिनिधि विनोद खनाल र संविधान सभासद् समेत रहेका युवा नेता हरेस महतो प्रदेश दुईको अधिवेशनमा भने एउटै प्यानलमा जोडिन आईपुगेका छन् ।
जिल्ला देखि केन्द्रको राजनीतिमा एकअर्का विरुद्ध आक्रामक ढंगले प्रस्तुत हुने यी दुई नेताको प्रदेश दुई अधिवेशनमा भने एउटै प्यानलबाट दुई फरक–फरक पदमा उम्मेद्वारी परेको छ । शेखर–निधी प्यानलबाट खनालले उपसभापति तथा महतोले महामन्त्री पदमा उम्मेद्वारी दिएका हुन् । अब वर्षौंदेखि ‘दुश्मन’को रुपमा देखिदै आएका दुवैले एकअर्काको पक्षमा मत माग्छन् की माग्दैनन् त्यो भने हेर्न बाँकी छ ।
सर्लाही क्षेत्र नम्बर ३ को क्षेत्रीय तथा प्रदेश क्षेत्र स्तरीय हुँदै पालिका स्तरीय नेतृत्व आफ्नो पक्षमा पार्न यी दुई नेताबीच कडा प्रतिष्पर्धा रहने गरेको छ । केही दिनअघि सम्पन्न क्षेत्रीय अधिवेशनमा क्षेत्र नम्बर ३ को सम्पूर्ण कार्यसमितिमा महतोको प्यानल नै वीजयी बन्यो भने खनाल बाहेक २४ जना महाधिवेशन प्रतिनिधि पनि महतो पक्षबाटै निर्वाचित भए ।
त्यस्तै प्रदेश सभा क को निर्वाचनमा भने खनालले तयार पारेको प्यानलले जीत हात पारेको छ भने प्रदेश सभा ख को निर्वाचनमा महतोको प्यानल वीजयी भएको छ । तथापी महतोले बनाएको प्यानलमा निर्वाचितहरु संस्थापन देउबा पक्ष निकट प्रतिनिधिहरु रहेको बताईएको छ ।