लालबन्दी – सर्लाहीको लालबन्दीमा आज बिहानैदेखि विद्यार्थीहरुले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारिरहेका छन् ।
हिजो बिहान लालबन्दीस्थित बस्तीपुर चौकमा ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु भएको घटनालाई लिएर विद्यार्थीहरुले बिहानैदेखि राजमार्ग अवरुद्ध पारिरहेका हुन् । उनीहरुले पीडितलाई न्यायको माग गर्दै राजमार्गमा नाराबाजी समेत गरिरहेका छन् ।
हिजो बिहान ५ बजेतिर जिल्लाको चन्द्रनगर गाउँपालिका–१, रतनपुर घरभइ हाल लालबन्दीमा कोठा भाडा लिएर जनज्योति माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययन गरिरहेका विपद राय यादवका छोरा १७ वर्षीय दीपेन्द्र कुमार यादवको ट्रकको ठक्करबाट ज्यान गएको थियो । प्रहरीले विद्यार्थीलाई ठक्कर दिने ना ३ ख ७९९० नम्वरको ट्रक र चालकलाई दुर्घटना लगत्तै नियन्त्रणमा लिइसकेको छ ।
विद्यार्थीहरुले बिहान ९ बजेपछिबाट लालबन्दीस्थित पूर्व–पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । लालबन्दीस्थित बस्तीपुर चौकबाट प्रदर्शन सुरु गरेका विद्यार्थीहरु अहिले लालबन्दीको मुख्य बजार क्षेत्रमा पुगेका छन् ।
विद्यार्थीको प्रदर्शन चर्किदै गएपछि लालबन्दीमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।