logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

कांग्रेस सर्लाही प्रदेश क्षेत्र अधिवेशन : कतै विवाद, कतै उम्मेद्वार मनोनयन सम्पन्न


  • उज्यालो अभियान

मलंगवा – नेपाली कांग्रेस सर्लाहीको प्रदेश क्षेत्र अधिवेशन अन्तर्गत ४ वटा प्रदेश क्षेत्रको नेतृत्व एवं प्रदेश महाधिवेशन प्रतिनिधि चयनका लागि आईतबार (हिजो) राती अबेरसम्म उम्मेद्वार मनोनयन लगायत प्रकृया सम्पन्न भएको छ भने ४ वटा प्रदेश क्षेत्रमा सोमबार (आज) बिहान उम्मेद्वार मनोनयन लगायत प्रकृया हुने भएको छ ।

क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश क्षेत्र क को बयलवासको उद्योग वाणिज्य संघको सभाहल तथा ख को लालबन्दी स्थित चरण तथा घाँसेबाली कार्यालयको सभाहलमा आईतबार (हिजो) राती अबेरसम्म उम्मेद्वार मनोनयन, फिर्ता र उम्मेद्वारको अन्तिम नामावली समेत प्रकाशन भएको छ । त्यस्तै क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश क्षेत्र क को पर्सा मावि र ख को सदरमुकाम मलंगवा स्थित पब्लिक माविमा उम्मेद्वार मनोनयन सहित अन्तिम नामावली प्रकाशनको काम समेत भईसकेको २ नम्बर क्षेत्रीय सभापति कौशल किशोर रायले जानकारी दिए । उक्त ४ वटै प्रदेश क्षेत्रमा नेतृत्व चयनका लागि सोमबार (आज) बिहान ९ बजेबाट मतदान नै सुरु गर्ने तयारी भईरहेको जिल्ला निर्वाचन अधिकृत धिरेन्द्र चौधरीले जानकारी दिए ।

त्यस्तै क्षेत्र नम्बर ३ को प्रदेश क्षेत्र क र ख को अधिवेशन स्थलमा विवाद हुँदा आईतबार उम्मेद्वार मनोनयनको प्रकृया नै अगाडाी बढेन । क्षेत्र नम्बर ३ का सभापति पुण्यहरि घिमिरेले दुईवटै प्रदेश क्षेत्रको अधिवेशन पार्टी क्षेत्रीय कार्यालय बरहथवामा गर्ने पत्र निर्वाचन अधिकृतलाई उपलब्ध गराएपछि त्यहाँ स्थानको विषयमा विवाद भएको थियो । नेता विनोद खनाल पक्षले दुईवटा प्रदेश क्षेत्रको अधिवेशन एकै ठाउँमा गर्दा गञ्जागोल हुने भएकाले प्रदेश क्षेत्र क को हरिवन स्थित सुखेपोखरी तथा ख को बरहथवामा क्याम्पसमा गर्न भनेको थियो । राती अबेर जिल्ला निर्वाचन अधिकृत चौधरीले प्रदेश क्षेत्र क को हरिवन नगरपालिका–७, स्थित गणेश मन्दिर स्थल तथा ख को बरहथवा स्थित पार्टी कार्यालयमा अधिवेशन गर्ने तय गरेका थिए भने राती नै दुवै ठाउँका लागि मतदान अधिकृत समेत नियुक्त गरेर पठाएका छन् ।
त्यसैगरी क्षेत्र नम्बर ४ मा भने बलरा नगरपालिकाकाको वडा नम्बर ८ र ९ को वडा अधिवेशन गराएपछि मात्र प्रदेश क्षेत्र अधिवेशन गराउनुपर्ने संस्थापन ईतर डा. अमरेशकुमार सिंह पक्षले माग गर्दा आईतबार दिनभर त्यहाँको दुईवटै प्रदेश क्षेत्र अधिवेशनको प्रकृया अगाडी बढन् सकेन । जिल्ला निर्वाचन अधिकृत चौधरीले आफूलाई केन्द्रीय निर्वाचन समितिबाट प्रदेश क्षेत्रको मात्र अधिवेशन गर्ने पत्र प्राप्त भएको र समयको समेत अभाव भएकाले प्रदेश क्षेत्रको मात्र अधिवेशन प्रकृया अगाडी बढाउन आईतबार राती प्रदेश क्षेत्र क र ख का लागि मतदान अधिकृत तोकेका छन् । तर त्यहाँ वडा अधिवेशन नगरी प्रदेश क्षेत्र अधिवेशन गरिए डा. अमरेशकुमार सिंहले बहिष्कार गर्ने चेतावनी दिएकाे बताईएकाे छ ।

त्यहाँ प्रदेश क्षेत्र क को मावि धोविनिया वा प्रावि धनकौलमा अधिवेशन गर्नेगरी तथा ख को मावि गोडैता वा पुस्तकालय वा बगदह निमाविमा अधिवेशन गराउन मतदान अधिकृतलाई अधिकार दिईएको जिल्ला निर्वाचन अधिकृत चौधरीले बताए । चौधरीका अनुसार क्षेत्र नम्बर ३ र ४ को ४ वटै प्रदेश क्षेत्रमा सोमबार बिहान १० बजेसम्म उम्मेद्वार मनोननयनको काम सम्पन्न गरेर मध्यान्हबाट मतदान गर्ने तयारी गरिएको छ ।

सर्लाहीमा जतिप्रयास गर्दा पनि सहमती जुट्न नसकेपछि वडा र एकैचोटी केन्द्रीय महाधिवेशन प्रतिनिधि छान्ने क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकिएको छ । केन्द्रीय महाधिवेशन समेत सम्पन्न गरिसकेको कांग्रेसको सर्लाही सहित १६ वटा जिल्लामा जिल्ला अधिवेशन बाँकी छ भने सर्लाहीमा त बलरा नगरपालिकाको २ वटा वडा, २० वटै पालिकाको समेत अधिवेशन बाँकी छ । ८ वटा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन प्रकृया भने आईतबारबाट अगाडी बढाईएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले पुस ६ र ७ गते प्रदेश २ को महाधिवेशन गर्ने निर्णय गरेपछि सर्लाहीमा पनि प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन गराउने तयारी सुरु भएको हो । प्रदेश महाधिवेशन अन्तर्गत जनकपुरमा मंगलबार मतदाताको नामावली, उम्मेद्वारी मनोनयन, फिर्ता, अन्तिम नामावाली लगायतको कार्यक्रम छ भने बुधबार मतदानको कार्यक्रम रहेको छ । मंगलबार बिहानसम्म सर्लाहीबाट प्रदेश क्षेत्रको मतगणना सम्पन्न गरेर प्रदेश महाधिवेशनको मतदाता नामावलीमा नाम समावेश गराउनुपर्ने सर्लाही कांग्रेसीलाई बाध्यता रहेको छ ।

हरेक प्रदेश क्षेत्र अधिवेशनबाट १७ जना प्रदेश महाधिवेशन प्रतिनिधि तथा १ प्रदेश क्षेत्र सभापति सहित १८ जनाका दरले प्रदेश महाधिवेशनमा मतदाता हुनेछन् भने सभापति बाहेक अन्य प्रतिनिधिले उम्मेद्वार समेत बन्न पाउनेछन् । प्रदेश क्षेत्र अधिवेशनले ७ सदस्यीय कार्यसमिति समेत चयन गर्नेछ ।

त्यस्तै प्रदेश महाधिवेशनमा यसअघि क्षेत्रीय अधिवेशनबाट निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय सभापतिले समेत मतदान गर्न पाउनेछन् भने केन्द्रीय महाधिवेशन प्रतिनिधिले प्रदेश महाधिवेशनमा उम्मेद्वार समेत बन्न पाउनेछन् । सर्लाहीबाट यसअघि ४ वटै क्षेत्रबाट निर्वाचित क्षेत्रीय सभापति सहित २६ जनाको दरले १०४ जना तथा प्रदेश क्षेत्र अधिवेशन सम्पन्न भएमा हरेक प्रदेश क्षेत्रबाट १८ जनाको दरले ८ वटाबाट १४४ जना गरी २४८ जना मतदाता प्रदेश महाधिवेशनमा सहभागि हुनेछन् ।

सर्लाहीमा संस्थापन निकट जिल्ला सभापति नागेन्द्रकुमार राय तथा संस्थापन ईतर निकट पूर्व जिल्ला सभापति लक्ष्मण राय पक्षबीच भिडन्त भईरहेकाे छ ।