नारायणपुर – भारतसँग सीमा जोडिएको सर्लाहीको पर्सा गाउँपालिका–३, नारायणपुरमा ५ दिनपछि बिहीबारबाट बिजुली सूचारु भएको छ ।
ट्रान्सफर्मर जडानको विषयमा विवाद हुँदा त्यस ठाउँका करिव एक हजार घरधुरी विगत ५ दिनदेखि अन्धकारमा बस्नु परेको थियो । नेपाल विद्युत् प्राधिकरणको मलंगवा वितरण केन्द्रले बिहीबार दिउँसो गाउँमा २ सय केभिएको दुईवटा ट्रान्सफर्मर जडान गरेपछि बिजुली बत्ती सूचारु भएको हो ।
स्थानीय केही व्यक्तिले गाउँमा दुईवटा ट्रान्सफर्मर जडान गर्नेक्रममा तार विस्तार गर्न नदिएपछि पूरै गाउँ अन्धकारमय बनेको थियो । यसअघि एक हजार घरधुरीमा २ सय केभिएको एउटामात्रै ट्रान्सफर्मरबाट बत्ती बाल्ने गरिएको थियो ।
स्थानीयको माग अनुसार प्राधिकरणले हिजो थप अर्को ट्रान्सफर्मर जडान गरेर बत्ती सूचारु गरेको स्थानीय अन्बारुल अन्सारीले जानकारी दिए । तार तान्न अवरोध गरिरहेका व्यक्तिलाई सम्झाइबुझाइ गरी ११ केभीको हाइटेन्सन लाइन विस्तार गरेर नयाँ ट्रान्सफर्मर जडान गरिएको नेपाल विद्युत् प्राधिकरणको मलंगवा वितरण केन्द्रले जनाएको छ ।
वितरण केन्द्रका प्रमुख विनोद कुमार यादवले स्थानीयबाट अवरोध हटेपछि दुईवटै ट्रान्सफर्मर लगेर जडान गरिएको उज्यालो अभियानसँग बताए ।