मलंगवा – नेपाली कांग्रेस सर्लाहीको क्षेत्रीय अधिवेशन अन्तर्गत क्षेत्र नम्बर २ को मतपरिणाम अनुसार जिल्ला सभापति नागेन्द्रकुमार राय नै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । विहिबार बिहान सम्पन्न मतगणना अनुसार संस्थापन पक्ष निकट जिल्ला सभापति नागेन्द्रकुमार रायको टिम संस्थापन ईतर निकट पूर्व जिल्ला सभापति लक्ष्मण रायको टिमसँग पराजित भएको हो । नागेन्द्रकुमार रायको पराजयसँगै अब संस्थापन पक्षबाट जिल्ला सभापतिको उम्मेद्वार को हुने भन्ने प्रश्न समेत उब्जिएको छ ।
संस्थापन पक्ष निकट जिल्ला सभापति राय, मलंगवा नगरपालिकाका मेयर निरसल साह, विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल राय समेत महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । क्षेत्रीय सभापतिमा पनि संस्थापन ईतरका कौशलकिशोर राय विजयी भएका छन् । उनले जिल्ला सभापति नागेन्द्रकुमार रायका भतिजा बब्लु भन्ने रुपेश यादवलाई पराजित गरेका हुन् । क्षेत्रीय समितिमा बहुमत संस्थापन ईतर पक्षका उम्मेद्वारले जितेको बताईएको छ ।
संस्थापन ईतर पक्षबाट सर्लाहीमा नेतृत्व गरिरहेका पूर्व जिल्ला सभापति लक्ष्मण राय निकट क्षेत्रीय सभापति सहित २१ जना महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन् । क्षेत्रीय सभापतिमा विजयी कौशलकिशोर राय पूर्व जिल्ला सभापति लक्ष्मण रायका सहोदर भाई हुन् । त्यस्तै लक्ष्मणकै पक्षबाट उम्मेद्वारी दिएका हरिपूर्वा नगरपालिकाका मेयर सियाराम रायले पनि महाधिवेशन प्रतिनिधिमा जितेका छन् । केन्द्रीय सदस्य जंगिलाल राय, जिल्ला सभापति नागेन्द्रकुमार राय सहित क्रियाशिल सदस्य संख्या समेत उनीहरुकै पक्षमा बढी भएकाले निकै बलियो मानिएको संस्थापन पक्षले पूर्व जिल्ला सभापति लक्ष्मण राय नेतृत्वको संस्थापन ईतर पक्षसँग लज्जास्पद हार ब्यहोरेको छ । एक नेताका अनुसार संस्थापन पक्षबाट महाधिवेशन प्रतिनिधिमा विजयी भएका ४ जना पनि केन्द्रीय सदस्य जंगिलाल राय निकट हुन् । जंगिलाल निकट जित्नेमा उनका सहाेदर भाइ वैद्यनाथ राय, सम्धी रामप्रताप राय तथा राप्रपाबाट आएका रामपदारथ साह एवं विनाेद कुमार साह रहेका छन् । रामपदारथले पनि ईतरपक्षका देवनारायण महताेसँग बराबरी अर्थात ३६७ मत भएपछि गाेलाप्रथाबाट जितेकाे बताईएकाे छ ।
आगामी जिल्ला अधिवेशनमा यसअघि नै संस्थापन पक्षबाट नागेन्द्रकुमार राय तथा संस्थापन ईतरबाट लक्ष्मण राय जिल्ला सभापतिको उम्मेद्वारको रुपमा हेरिसकिएकाले नागेन्द्रले महाधिवेशन प्रतिनिधिमै पराजय व्यहोरेपछि संस्थापन पक्षबाट जिल्ला सभापतिमा को उम्मेद्वार हुने भन्ने खुल्दुली सूरु भएको छ । कांग्रेसको पछिल्लो निर्वाचन निर्देशिका अनुसार जिल्ला सभापतिको उम्मेद्वार हुन महाधिवेशन प्रतिनिधिमा जित्नै पर्छ ।
त्यसैगरी क्षेत्र नम्बर १ मा संस्थापन ईतर पक्षका हरि लुंगेली क्षेत्रीय सभापतिमा विजयी भएका छन् । उनले संस्थापन पक्षका कुबेर आचार्यलाई पराजित गरेका हुन् । क्षेत्रीय समितिमा लुंगेली पक्षबाटै बहुमत पदमा विजयी भएको बताईएको छ । त्यहाँ महाधिवेशन प्रतिनिधिमा पनि संस्थापन ईतर पक्षबाट १४ जना विजयी भएका छन् । क्रियाशिल सदस्य संख्या तथा आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ नेतृत्वको टिम रहेकाले संस्थापन पक्ष बलियो मानिएको १ नम्बरमा पूर्व जिल्ला संस्थापन ईतरले क्षेत्रीय समिति सहित महाधिवेशन प्रतिनिधिमा बाजी मारेको छ ।
त्यसैगरी क्षेत्र नम्बर ४ मा भने यसअघि नै संस्थापन पक्षले सबै पदमा सहज जीत हात पारेको थियो । बुधबार बिहान सम्पन्न मतगणना अनुसार संस्थापन पक्षका जिल्ला उपसभापति सुरेन्द्र सिंह तथा उनका भाई प्रदेश दुईका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह नेतृत्वको टिमका सबै उम्मेद्वार विजयी भएका थिए । संस्थापन पक्षका धनकौल गाउँपालिकाका अध्यक्ष समेत रहेका रामआश्रय साह क्षेत्रीय सभापतिमा विजयी भए भने जिल्ला उपसभापति सुरेन्द्र सिंह, प्रदेश मन्त्री विरेन्द्र सिंह सहित २४ जना महाधिवेशन प्रतिनिधिले एकलौटी जित हात पारेका छन् । संस्थापन ईतरका संघीय सांसद् डा. अमरेशकुमार सिंह नेतृत्वको टिम नै क्षेत्रीय समिति सहित महाधिवेशन प्रतिनिधिमा पराजित भएको छ ।
क्षेत्र नम्बर ३ को भने बरहथवामा मतगणना जारी छ । त्यहाँ बुधबार राती साँढे ११ बजे मतदान सम्पन्न भएको थियो । अहिले क्षेत्रीय समितिको मतगणना जारी रहेको छ । समितिको गणना सम्पन्न भएपछि महाधिवेशन प्रतिनिधिको मतगणना गरिने बताईएको छ । त्यहाँ संस्थापन पक्षबाट हरेस महतो तथा संस्थापन ईतरबाट पूर्व जिल्ला उपसभापति विनोद खनाल नेतृत्वको टिम चुनावमा होमिएको छ । त्यहाँ संस्थापन पक्षबाट क्षेत्रीय सभापतिमा पूण्य प्रसाद घिमिरे तथा संस्थापन ईतरबाट भिखारी रायले उम्मेद्वारी दिएका छन् ।
जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले सर्लाहीको क्षेत्रीय अधिवेशन अन्तर्गत क्षेत्र नम्बर १, २ र ४ को मतपरिणाम आईसकेको तथा क्षेत्र नम्बर ३ मा भने मतगणना जारी रहेको जानकारी दिए ।