बरहथवा – नेपाली कांग्रेस सर्लाहीको क्षेत्रीय अधिवेशन अन्तर्गत क्षेत्र नम्बर ३ को सभापतिमा स्वतन्त्र उम्मेद्वारी दिएका हरिवन निवासी युवा नेता निरज कार्कीले आफ्नाे उम्मेद्वारी फिर्ता लिएका छन् ।
कार्कीले उम्मेद्वारी फिर्ता लिएसँगै अब ३ नम्बरकाे क्षेत्रीय सभापतिमा संस्थापन पक्षबाट पुण्यहरि घिमिरे र संस्थापन ईतरबाट भिखारी रायबीच भिडन्त हुने भएकाे छ । यसअघि लामो समयदेखि संस्थापन पक्षबाट क्षेत्रीय सभापतिको उम्मेद्वारको रुपमा निरज कार्कीलाई अगाडी सार्दै प्रचार प्रसार समेत भईसकेपनि अन्तिम समयमा उक्त पक्षबाट घिमिरेलाई क्षेत्रीय सभापतिको उम्मेद्वार बनाईएपछि कार्कीले स्वतन्त्र उम्मेद्वारी दिएका थिए । कार्कीलाई समर्थन गर्ने वडा सभापति एवं क्षेत्रीय प्रतिनिधि बनेका युवा देखि अन्य अग्रज नेताहरुले समेत उक्त समूहबाट कार्कीलाई क्षेत्रीय सभापतिको उम्मेद्वार नबनाईएपछि आक्राेश व्यक्त गरेका थिए ।
यद्यपि कार्कीले बुधबार बिहान उम्मेद्वारी फिर्ता लिएका छन् । टिमका लागि आफुले उम्मेद्वारी फिर्ता लिएकाे कार्कीले बताए ।
सर्लाहीमा संस्थापन पक्षकाे नेतृत्व जिल्ला सभापति नागेन्द्रकुमार राय तथा संस्थापन ईतर पक्षकाे नेतृत्व पूर्व जिल्ला सभापति लक्ष्मण रायले गरेका छन् । ३ नम्बर क्षेत्रमा भने संस्थापन पक्षकाे नेतृत्व हरेस महताे तथा संस्थापन ईतरकाे नेतृत्व विनाेद खनालले गरिरहेका छन् । बरहथवामा बुधबार दिउँसाे क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान हुँदैछ ।