logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

कार्कीको स्वतन्त्र उम्मेद्वारीले क्षेत्र नं. ३ मा तरंग, बुडापाका नेताहरु हार्ने डरले त्रसित


  • उज्यालो अभियान

बरहथवा – नेपाली कांग्रेस सर्लाहीको क्षेत्रीय अधिवेशन अन्तर्गत क्षेत्र नम्बर ३ को सभापतिमा हरिवन निवासी युवा नेता निरज कार्कीले क्षेत्रीय सभापतिमा उम्मेद्वारी दिएका छन् ।

सर्लाहीका अन्य क्षेत्रहरुमा संस्थापन निकट जिल्ला सभापति नागेन्द्रकुमार रायको पक्षबाट र संस्थापन ईतर पूर्व जिल्ला सभापति लक्ष्मण रायको पक्षबाट दुईवटा प्यानलमै भिडन्त भईरहेपनि ३ नम्बर क्षेत्रमा भने ती दुई प्यानले बाहेक कार्कीले स्वतन्त्र रुपमा क्षेत्रीय सभापतिको उम्मेद्वारी दिएका हुन् । मंगलबार राती सम्पन्न उम्मेद्वारी दर्तामा क्षेत्र नं. ३ मा संस्थापन निकट जिल्ला सभापति नागेन्द्रकुमार राय पक्षबाट संविधान सभासद् हरेस महतोको नेतृत्व तथा संस्थापन ईतर लक्ष्मण राय पक्षबाट विनोद खनाल नेतृत्वको प्यानलले नै उम्मेद्वारी दिएका छन् ।

क्षेत्र नं. ३ मा संस्थापन निकट हरेस महतो प्यानलबाट हालका क्षेत्रीय सभापति पुण्यहरि घिमिरे तथा संस्थापन ईतर निकट विनोद खनाल प्यानलबाट भिखारी राय क्षेत्रीय सभापतिको उम्मेद्वार बनेका छन् । लामो समयदेखि संस्थापन पक्षबाट क्षेत्रीय सभापतिको उम्मेद्वारको रुपमा निरज कार्कीलाई अगाडी सार्दै प्रचार प्रसार समेत भईसकेपनि अन्तिम समयमा उक्त पक्षबाट घिमिरेलाई क्षेत्रीय सभापतिको उम्मेद्वार बनाईएपछि कार्कीले स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । सँधै बुढापाकाहरुको मात्र पार्टी हो भन्ने आरोप खेप्दै आएको कांग्रेसमा युवाको सहभागिता एवं नेतृत्व सुनिश्चितताका लागि आफूले उम्मेद्वारी दिएको क्षेत्रीय सभापतिका उम्मेद्वार निरज कार्कीले दाबी गरे । कार्कीकाे स्वतन्त्र उम्मेद्वारीमा हरिवनका युवा राजेश चाैधरी प्रस्तावक छन् भने सचित न्यासुर समर्थक रहेका छन् ।

हालै सम्पन्न कांग्रेस सर्लाहीको वडा अधिवेशन अन्तर्गत अधिकांश वडाहरुमा सभापतिदेखि क्षेत्रीय प्रतिनिधिको रुपमा युवाहरुको बाहुल्यता देखिएको र युवाहरुबीच लोकप्रिय कार्कीको स्वतन्त्र उम्मेद्वारीले कांग्रेस क्षेत्र नम्बर ३ मा क्षेत्रीय सभापतिको चुनाव थप चर्चाको विषय बनेको छ । जिल्ला सभापति नागेन्द्रकुमार राय, हरेस महताे, रामप्रसाद मैनाली, डाेरप्रसाद भट्टराई लगायतले फाेन गरेर कार्कीलाई उम्मेद्वारी फिर्ता लिन दबाब दिईरहेकाे बुझिएकाे छ । मंगलबार राती उम्मेद्वारी दर्तामै समय लागेपछि उम्मेद्ववारी फिर्ता लगायत कार्यक्रम बुधबार बिहान हुँदैछ ।