logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

कांग्रेस क्षेत्रीय अधिवेशन : ईश्वरपुर र रामवनमा मतगणना, बरहथवामा उम्मेद्वारी दर्ता सम्पन्न


  • उज्यालो अभियान

नेपाली कांग्रेसको ३ नम्बर क्षेत्रीय अधिवेशन स्थल बरहथवा स्थित क्षेत्रीय कार्यालय परिसरमा खटिएका सुरक्षाकर्मी । (तस्बिर : उज्यालो अभियान)

हरिवन – नेपाली कांग्रेस सर्लाहीको क्षेत्रीय अधिवेशन अन्तर्गत मंगलबार राती अबेर यो समाचार तयार पार्दासम्म दुईवटा क्षेत्रमा मतदान सम्पन्न भएको छ भने एउटा क्षेत्रमा उम्मेद्वारी दर्ताको काम सकिएको छ ।

क्षेत्र नं. १ र ४ को क्षेत्रीय समिति एवं महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान सम्पन्न भएको हो । क्षेत्र नं. ४ को रामवनमा साँझ सबा ७ बजे मतदान सम्पन्न भएको छ । त्यहाँ ७६० मतदाताले मतदान गरेका छन् । यो समाचार तयार पार्दासम्म अर्थात राती साँढे १० बजे मतगणनाको काम समेत सूरु भएको नेपाल पत्रकार महासंघका प्रदेश दुई सचिब समेत रहेका कांग्रेस नेता अजितकुमार सिंहले जानकारी दिए । त्यहाँ ५१ वटा वडा मध्ये ४९ वटा वडाका मतदाताले मतदान गरेका छन् । विवादका कारण गोली समेत चलेपछि दुईवटा वडामा भने वडा अधिवेशन नै हुन सकेन र उक्त वडाका मतदाताले क्षेत्रीय अधिवेशनमा सहभागि हुन पाएनन् । त्यहाँ बिहान १० बजेबाट मतदान सूरु गर्ने भनिएपनि दिउँसो साँढे २ बजेबाट मात्र मतदान सूरु भएको थियो ।

त्यस्तै क्षेत्र नं. १ को ईश्वरपुरमा पनि राती साँढे १० बजे मतदान सम्पन्न भएको छ । त्यहाँ ८३४ मतदाता मध्ये ८२८ जनाले मतदान गरेको बताईएको छ । राती साँढे १२ बजेबाट मतगणना सूरु गर्ने तयारी भएको एक सुरक्षा अधिकारीले जानकारी दिए । त्यहाँ बिहान ८ बजेबाट मतदान सूरु गर्ने भनिएपनि दिउँसो साँढे १ बजेबाट मात्र मतदान सूरु भएको थियो । मतपत्र छपाईमा ढिलाई हुँदा मतदान प्रकृया नै ढिलाई भएको बताईएको छ ।

दुवै क्षेत्रमा संस्थापन पक्ष अर्थात प्रधानमन्त्री एवं कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवा निकट सर्लाही सभापति नागेन्द्रकुमार राय र संस्थापन ईतर निकट पूर्व जिल्ला सभापति लक्ष्मण राय पक्षबाट दुई प्यानलमा उम्मेद्वारी परेको छ । महाधिवेशन प्रतिनिधिमा भने केही स्वतन्त्र उम्मेद्वारी समेत परेको छ । क्षेत्रीय अध्यक्षमा भने दुई प्यानलबाट मात्र उम्मेद्वारी परेको छ ।

त्यस्तै क्षेत्र नं. ३ को निर्वाचन प्रकृया अन्तर्गत मंगलबार राती अबेर उम्मेद्वार मनोनयन दर्ताको काम सम्पन्न भएको छ । निर्वाचन कार्यालयले दिउँसो ३ः४० बजेदेखि ५ः४० बजेसम्म मनोनयनको कार्यतालिका राखेपनि कागजी प्रकृया गर्ने क्रममा अत्यन्त ढिलाई हुँदा मनोनयनको काम नै राती साँढे ९ बजेसम्म भएको थियो । उम्मेद्वारको अन्तिम नामावली राती ७ः४५ मा प्रकाशन गर्ने कार्यतालिका भएपनि तय अनुसार काम हुन नसकेपछि राती १२ बजे मात्र उम्मेद्वारी दर्ता गराएकाहरुको नामावली प्रकाशन गर्ने तयारी भएको मतदान अधिकृत नवराज थापाले जानकारी दिए ।

क्षेत्र नं. ३ मा भने क्षेत्रीय अध्यक्षमा नै ३ जनाको उम्मेद्वारी परेको छ । संस्थापन पक्षबाट पुण्यहरि घिमिरे, संस्थापन ईतरबाट भिखारी राय तथा स्वतन्त्र रुपमा हरिवन निवासी युवा नेता निरज कार्कीले क्षेत्रीय सभापतिमा उम्मेद्वारी दिएका छन् । महाधिवेशन प्रतिनिधिमा पनि दुई प्यानल बाहेक अन्य केही स्वतन्त्र उम्मेद्वारी समेत परेको जनाईएको छ ।

क्षेत्र नं. १ मा संस्थापन पक्षबाट कुवेर आचार्य र संस्थापन इतरबाट हरि लुङ्गेली सभापतिको उम्मेदवार छन् । त्यस्तै, क्षेत्र नं. ४ मा संस्थापन पक्षबाट धनकौल गाउँपालिकाको अध्यक्ष समेत रहेका रामआश्रय साह र संस्थापन इतरबाट हरेन्द्र सहनी सभापतिको उम्मेद्वार छन् ।

यस्तै, क्षेत्र नं. २ मा भने मतदान अधिकृत अस्वस्थ भएको भन्दै मंगलवार गर्ने भनिएको मतदान बुधबारलाई सारिएको छ । निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले मंगलबार दिउँसो सूचना निकालेर क्षेत्र नं. २ मा बुधबार मतदान हुने जानकारी गराएका छन् ।