logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

कांग्रेस क्षेत्रीय अधिवेशन : क्षेत्र नं. १ र ४ मा मतदान जारी, क्षेत्र नं. २ मा स्थगित


  • उज्यालो अभियान

नेपाली कांग्रेसको ३ नम्बर क्षेत्रीय अधिवेशन स्थल बरहथवा स्थित क्षेत्रीय कार्यालय परिसरमा खटिएका सुरक्षाकर्मी । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीको क्षेत्र नं. १ र ४ मा नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत मंगलवार दिउँसोबाट मतदान जारी छ । दुवै ठाउँमा उम्मेदवारहरुको नामावलीसहितको मतपत्र छापेर आउन ढिलाई भएका कारण बिहानैदेखि सुरु गर्ने भनिएको मतदान दिउँसोबाट बल्ल प्रारम्भ भएको हो ।

क्षेत्र नं. १ को ईश्वरपुरस्थित बयलवास र क्षेत्र नं. ४ को गोडैतास्थित रामवनमा क्षेत्रीय अधिवेशन स्थल तोकिएको छ । क्षेत्र नं. १ मा संस्थापन पक्षबाट कुवेर आचार्य र संस्थापन इतरबाट हरि लुङ्गेली सभापतिको उम्मेदवार छन् । त्यस्तै, क्षेत्र नं. ४ मा संस्थापन पक्षबाट धनकौल गाउँपालिकाको अध्यक्ष समेत रहनुभएका रामआश्रय साह र संस्थापन इतरबाट हरेन्द्र सहनी सभापतिको दाबेदार हुन् ।

यस्तै, क्षेत्र नं. २ मा भने मतदान अधिकृत अस्वस्थ भएको भन्दै मंगलवारलाई क्षेत्रीय अधिवेशन प्रक्रिया नै स्थगित गरिएको छ । निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले मंगलवार दिउँसो सूचना निकालेर क्षेत्र नं. २ मा अब बुधबारबाट मात्रै अधिवेशन प्रक्रिया अघि बढ्ने जानकारी गराएका छन् ।

यसैगरी, क्षेत्र नं. ३ मा मंगलबार दिउँसोबाट बल्ल अधिवेशन प्रक्रिया अघि बढेको छ । ३ नम्वर क्षेत्रमा क्षेत्रीय प्रतिनिधि चयनमा विवाद रहेको थियो । क्षेत्र नं. २ को सदरमुकाम मलङ्गवा र क्षेत्र नं. ३ को बरहथवामा अधिवेशन स्थल तोकिएको छ ।