logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

यसरी सूरु भयो आजबाट कांग्रेस सर्लाहीको क्षेत्रीय अधिवेशन


  • उज्यालो अभियान

नेपाली कांग्रेसको ३ नम्बर क्षेत्रीय अधिवेशन स्थल बरहथवा स्थित क्षेत्रीय कार्यालय परिसरमा खटिएका सुरक्षाकर्मी । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – लामो विवादपछि सर्लाहीमा सोमबारबाट सत्तारुढ नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन सुरु भएको छ ।

जिल्ला निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले चारवटै निर्वाचन क्षेत्रमा अधिवेशन प्रक्रिया प्रारम्भ भएको उज्यालो अभियानसँग बताए । क्षेत्र नं. १ को बयलवास, क्षेत्र नं. २ को मलंगवा, क्षेत्र नं. ३ को बरहथवा र क्षेत्र नं. ४ को गोडैतास्थित रामवनमा क्षेत्रीय अधिवेशन प्रारम्भ भएको हो । यद्यपी सोमबार राती यो समाचार तयार पार्दासम्म क्षेत्र नम्बर २ र ३ मा अधिवेशन अन्तर्गत उम्मेद्वार मनोनयन प्रकृया अगाडी बढ्न सकेको छैन ।

क्षेत्र नं. १ को ईश्वरपुर नगरपालिकास्थित बयलवासमा राती अबेर प्रकाशित उम्मेद्वारको नामावली अनुसार त्यहाँ संस्थापन पक्ष अर्थात प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट क्षेत्रीय अध्यक्षमा कुबेर आचार्यले तथा संस्थापन ईतर पक्षबाट हरि लुंगेलीले उम्मेद्वारी दर्ता गराएका छन् । त्यस्तै २ जना निर्वाचित हुने सचिबमा भने ४ जनाको उम्मेद्वारी परेको छ । सचिबमा बुद्धदेव चौधरी, रामप्रसाद सिंह दनुवार, समिर केसी र वीरेन्द्र महतो कोइरीले उम्मेद्वारी दिएका छन् ।

त्यस्तै २ जना नै निर्वाचित हुने सह–सचिबमा पनि ४ जनाको उम्मेद्वारी परेको छ । त्यस्तै महाधिवेशन प्रतिनिधितर्फ ४ जना निर्वाचित हुने प्रत्यक्ष महिलामा ११ जनाको उम्मेद्वारी परेको छ भने १० जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने खुला प्रत्यक्षमा २७ जनाले उम्मेदवारी दिएका छन् । एक महिला सहित २ जना निर्वाचित हुने आदिवासी जनजाती तर्फ महाधिवेशन प्रतिनिधिमा ४ जनाको उम्मेद्वारी परेको छ । आमन्त्रित केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शम्भुलाल श्रेष्ठले पनि खुला छाडेर आदिवासी जनजातीतर्फमै महाधिवेशन प्रतिनिधिको उम्मेद्वारी दिएका छन् ।

त्यस्तै थारु १ जना निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा २ जनाको उम्मेद्वारी परेको छ । त्यसमा संविधान सभासद् रामचन्द्र चौधरी र गोपाल पंजियारले उम्मेद्वारी दिएका छन् । त्यस्तै मुस्लिम कोटाबाट १ जना निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा २ जनाको उम्मेद्वारी परेको छ । १ जना निर्वाचित हुने खस आर्यतर्फ २ जना, १ महिला सहित ३ जना निर्वाचित हुने मधेशीमा ७ जना, १ महिला सहित २ जना निर्वाचित हुने दलिततर्फ ५ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । खुला प्रत्यक्षतर्फ उम्मेद्वारी दिएका युनिस अन्सार विरुद्ध भने फौजदारी अभियोग लागेको भन्दै उजुरी परेको निर्वाचन समितिले जनाएको छ ।

त्यहाँ क्षेत्रीय समिति अन्तर्गत सदस्यमा थारु तर्फ राम सिंह थारु, अन्य मुस्लिम, अल्पसंख्यक, अपांग तर्फ प्रवेज मिकरानी र आदिवासी जनजाती तर्फ हरिगेन सिंह निर्विरोध निर्वाचित भएका छन् । दलित सदस्यमा भने उम्मेद्वारी नै परेको छैन । क्षेत्र नं. १ को क्षेत्रीय समिति सहित महाधिवेशन प्रतिनिधि चयनका लागि मंगलबार बिहान ८ बजेबाट मतदान गर्ने बताईएको छ ।

त्यस्तै क्षेत्र नं. ४ मा पनि दुवै पक्षबाट उम्मेद्वारी दर्ता भएको छ । वडा अधिवेशनमै गोली, झडप लगायतका घटनाले कठिन मानिएको ४ नम्बर क्षेत्रमा उम्मेद्वारी दर्ता भने सहज भएको छ । संस्थापन पक्षका सुरेन्द्र सिंह तथा संस्थापन ईतर पक्षका संघीय सांसद् डा. अमरेशकुमार सिंह पक्ष बीचको विवादले ४ नम्बर मात्र हैन जिल्ला स्थित ४ वटै क्षेत्रको अधिवेशन अवरुद्ध बनेको थियो । त्यहाँ त्यहाँ दुवै पक्षले पटक–पटक थपिएको अनुसार राती ८ बजेसम्म उम्मेद्वारी दर्ताको समय भित्र उम्मेद्वारी दर्ता गराएका छन् । संघीय सांसद् डा. सिंहका अनुसार ३ वटा वडाको अधिवेशन छाडेरै क्षेत्रीय अधिवेशन हुन लागेको हो । त्यहाँ संस्थापन पक्षका जिल्ला उपसभापति सुरेन्द्र सिंह तथा प्रदेश दुई सरकारका मन्त्री वीरेन्द्र प्रसाद सिंहको पक्षबाट सबै पदमा उम्मेद्वारी परेपनि संस्थापन ईतर पक्षका संघीय सांसद् डा. सिंह पक्षबाट भने केही पदमा उम्मेद्वारी नपरेको बताईएको छ । क्षेत्र नं. ४ को नेतृत्व एवं महाधिवेशन प्रतिनिधि चयनका लागि मंगलबार बिहान १० बजेबाट मतदान सूरु हुने बताईएको छ ।

सहज मानिएको क्षेत्र नं. ३ मा भने कविलासी नगरपालिका–४, वडा अधिवेशनको विवादले उम्मेद्वारी दर्ता नै हुन सकेन । मंगलबार बिहानसम्म दुवै पक्षले छलफल गरी उक्त वडाको सर्बसम्मत वडा समिति र क्षेत्रीय प्रतिनिधिको नामावली ल्याउनु पर्ने र नल्याएको खण्डमा उक्त वडा छाडेरै क्षेत्रीय अधिवेशनको प्रकृया अगाडी बढाईने निर्वाचन समितिका धिरेन्द्र चौधरीले जानकारी दिए । खासगरी संस्थापन तथा संस्थापन ईतरबाट क्षेत्रीय सभापति सहित क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी खडा गर्ने विषयमा आफ्नै पक्षभित्र कुरा मिल्न नसक्दा त्यहाँ क्षेत्रीय अधिवेशन लम्बिएको नेता कार्यकर्ताले बताएका छन् ।

त्यस्तै क्षेत्र नं. २ मा पनि विवाद थप बढ्दै गएको छ । २ नम्बर क्षेत्र भित्रका विवादित मानिएका मलंगवा–१०, ब्रम्हपुरी–१, कौडेना–४ को मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमै मतदान मार्फत नेतृत्व चयन गरिएको थियो । उक्त मतदान मार्फत चयन भएका मतदातालाई क्षेत्रीय अधिवेशनको लागि मतदाता नामावलीमा समावेश गर्ने विषयमा साँझ अबेर फेरि विवाद भएको छ । २ नम्बर क्षेत्रको विवादका बारेमा दुवै पक्षसँग छलफलको क्रम चलिरहेको जिल्ला निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले जानकारी दिए ।

विवादले गर्दा सर्लाहीमा अधिवेशन नहुने भएपछि केन्द्रले नै निर्वाचन समिति र सुरक्षा अधिकारीलाई जसरी पनि अधिवेशन गराउन निर्देशन दिएको बुझिएको छ । अधिवेशन नभए सर्लाहीबाट १४ औँ महाधिवेशनमा प्रतिनिधित्व नहुने भएपछि केन्द्रबाट जसरी भएपनि अधिवेशन गराउन दबाब आएको स्रोतले जनाएको छ ।

सर्लाहीमा दुई पक्षबीच सहमती जुट्न नसक्दा पालिका, प्रदेश र जिल्ला अधिवेशन भने हुन सकेन । जिल्ला नै छुट्ने भएपछि अन्य तहको अधिवेशन छाडेर केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने क्षेत्रीय अधिवेशन गर्न लागिएको हो ।

क्षेत्रीय अधिवेशनले प्रत्येक क्षेत्रमा एक जना क्षेत्रीय सभापति, दुई जना सचिव, दुई जना सह–सचिव, सदस्य र महाधिवेशन प्रतिनिधि चयन गर्ने छ । कांग्रेसको क्षेत्रीय अधिवेशन भइरहेको चारवटै स्थानमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । चारवटै स्थानमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएका छन् । सर्लाहीमा संस्थापन पक्षबाट जिल्ला सभापति नागेन्द्रकुमार राय तथा संस्थापन ईतर पक्षबाट लक्ष्मण राय सभापतिको उम्मेद्वार छन् र उनीहरु दुईजनाकै नेतृत्वमा विवाद बढिरहेको छ । अहिले पनि दुवै पक्षले एकअर्का माथि धाँधलीको आरोप लगाउँदै आएका छन् ।