logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

मिलेन कांग्रेसको विवाद, जसरी भएपनि अधिवेशन प्रक्रिया अघि बढाउने तयारी


  • उज्यालो अभियान

लालबन्दी – जतिपटक छलफल गर्दा पनि कांग्रेस सर्लाहीको विवाद झन बढ्दै गएको छ ।

संस्थापन पक्षका जिल्ला सभापति नागेन्द्र कुमार राय र संस्थापन इतर पक्षका पूर्व जिल्ला सभापति लक्ष्मण राय पक्ष बीचको आ–आफ्नो अडानले गर्दा अहिलेसम्म भएका वार्ता उपलब्धीविहिन देखिएका छन् । कांग्रेसभित्रको विवाद मिलाई अधिवेशन गराउन हिजो र अस्ती दुई दिन जिल्लाका सुरक्षा प्रमुखहरुले समेत पहल गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय मलंगवामा हिजो दिनभर भएको वार्तामा प्रदेश २ का प्रहरी प्रमुख डीआईजी उमेश रन्जितकार समेत सहभागी थिए । तर वार्ताले कुनै ठोस सहमती जुटाउन सकेन ।

नेताहरु सहमतीमा नआएपछि निर्वाचन समिति र सुरक्षा प्रमुखहरुले अब जसरी हुन्छ अधिवेशनप्रक्रिया अघि बढाउने तयारी गरेका छन् । त्यसका लागि अहिले सदरमुकाम मलंगवामा प्रमुख जिल्ला अधिकारी, सबै सुरक्षा निकायका प्रमुख, निर्वाचन अधिकृतसहितको छलफल चलिरहेको छ ।

अब विवाद भएका वडाहरुमा छानबिन अघि बढाउने र बाँकी रहेका अधिवेशनहरु निर्वाचन निर्देशिका बमोजिम अगाडि बढाउने तयारी भइरहेको एक सुरक्षा अधिकारीले उज्यालो अभियानसँग बताए । अरु जिल्लाहरुमा अधिवेशन प्रक्रिया निकै अगाडि बढेपनि सर्लाहीमा भने सबै ठाउँहरुमा वडा अधिवेशन समेत हुन सकेको छैन् ।

विशेष गरी क्षेत्र नं. ४ मा पार्टीकै नेता एवं संघीय सांसद डा. अमरेशकुमार सिंह र प्रदेश सरकारका मन्त्री वीरेन्द्र प्रसाद सिंहबीचको टकराबले विवाद भइरहेको र त्यहाँकै असरले जिल्लाभर अधिवेशन प्रभावित भएको जानकारहरु बताउँछन् ।