नारायणखोला – सर्लाहीको अतिदुर्गम क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४ नारायण खोलामा शुक्रबार पहिलो पटक प्रदेश सरकारका मन्त्री पुगेका छन् ।
आफ्नो पार्टी नेकपा एकीकृत समाजवादीले आयोजना गरेको वडा भेलालाई सम्वोधन गर्न प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सत्रुधन महतो नारायणखोला पुगेका हुन् । मन्त्री महतोले कार्यक्रमलाई सम्वोधन गर्दै विकट क्षेत्रमा पर्ने नारायणखोलावासीको जनजीविकालाई सहज बनाउन प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नेकपा एकीकृत समाजवादी पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री महतोको प्रमुख आतिथ्यतामा नारायणखोलास्थित मोटरदोभान स्कुलमा भएको भेलाबाट श्यामबहादुर कल्तान अध्यक्ष रहने गरी पार्टीको २३ सदस्यीय वडा कमिटी र चक्रबहादुर ब्लोन अध्यक्ष रहने गरी ५१ सदस्यीय युवा संघ गठन गरिएको कार्यक्रम संचालक एवं नेकपा एकीकृत समाजवादी पार्टी लालबन्दी नगर कमिटीका सचिव राज तामाङले जानकारी दिए ।
पार्टीका नगर कमिटी अध्यक्ष राजन काफ्लेको अध्यक्षता तथा मन्त्री महतोको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य लक्ष्मण पौडेल, केन्द्रीय सदस्य बेची लुंगेली, जिल्ला अध्यक्ष सुरेन्द्र लामा, जिल्ला सचिव गोविन्द अधिकारी, जिल्ला कमिटी सदस्य एवं हरिपुर नगरपालिकाकी उपमेयर रेणुका काफ्ले, अर्का जिल्ला कमिटी सदस्य सुक्र थिङ, प्रेम लो लगायतले मन्तव्य राखेका थिए ।
सोही कार्यक्रममा प्रदेश सभा सदस्य तथा पार्टीकी केन्द्रीय सदस्य बेची लुंगेलीले आगलागीमा परेर बिचल्लीमा परेको नारायणखोला मोटरदोभानका टेकबहादुर मगरको परिवारलाई सोलार सहयोग गरिन् । डाँडामा एउटामात्रै घर रहेकाले मगरको घरसम्म विद्युत प्राधिकरणले लाईन लगिदिएको छैन् भने घरमा भएको सोलार पनि केही समयअघि आगलागीमा परेर जलेको थियो ।