हरिवन – नेपाली कांग्रेस सर्लाहीको अधिवेशन गराउन चौँथो पटक पुनः अर्का निर्वाचन अधिकृत खटाइएको छ । यसअघि तेस्रो पटक खटाइएका निर्वाचन अधिकृत भरत राउत पनि अधिवेशन गराउन नसक्ने भन्दै काठमाडाैं फर्किएपछि केन्द्रीय निर्वाचन समितिले अरुण कुमार ज्ञवालीलाई सर्लाहीको नयाँ निर्वाचन अधिकृतको रुपमा खटाएको हो ।
सर्लाही नै घर भएका यसअघिका निर्वाचन अधिकृत राउत जसभन्दा अपजस धेरै खेपेको र दुई गुटका नेताहरुबीचको टकराबले अधिवेशन गराउनै अप्ठेरो परेको भन्दै विहिबार दिउँसो अचानक काठमाडाैं फर्किएका छन् । बारा घर भएका अहिलेका नयाँ निर्वाचन अधिकृत ज्ञवालीले धनुषामा भर्खरै जिल्लाबाहेक अन्य अधिवेशन सम्पन्न गराईसकेका छन् । ज्ञवालीले सर्लाहीमा अधिवेशन गराउनका लागि विहिबार रातीबाटै नयाँ टिम परिचालन भइसकेको बताए ।
आफू भने अस्वस्थ भइ बारास्थित घरमै आराम गरिरहेको र शुक्रबार बेलुका सम्ममा सर्लाही आइसक्ने उनले उज्यालाे अभियानसँगकाे कुराकानीमा भने । उनले सर्लाहीमा यसअघि शुक्रबारका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन नहुने र दुवै पक्षकाे सहमतिमा सकेसम्म शनिबार हुनसक्ने प्रश्ट पारे ।
यसअघिका निर्वाचन अधिकृत राउतले छाडेर गएको कागजात र अन्य सरसामग्रीहरु बरबुजारत हुने र त्यसपछि प्रदेश र प्रतिनिधि सभा क्षेत्रको अधिवेशन प्रकृया अगाडि बढाईने ज्ञवालीकाे भनाई छ । उनले नेतृत्व चयन भइसकिएको भनिएका कतिपय वडाहरुमा उजुरी समेत परेकाले त्यसको छानबिन गरी ५१ प्रतिसत क्रियाशील सदस्य स–प्रमाण आए पुनः अधिवेशन गराइने समेत बताएका छन् । यसअघिका निर्वाचन अधिकृत राउत शुक्रबार काठमाडाैं गएपछि लालबन्दीस्थित उनी बसेको एक घरको कोठामा कांग्रेस सर्लाहीको दुवै समूहको उपस्थितिमा ताला लगाएर लाहाछाप लगाइएको छ । शुक्रबार बिहानैबाट ज्ञवालीका सहयाेगि अर्थात सहायक निर्वाचन अधिकृत धिरेन्द्र चाैधरीले दुवै पक्षलाई युनाईटेड हाेटल ईनन लालबन्दीमा बाेलाएर वार्ताकाे प्रयास सुरु गरेका छन् ।
सर्लाहीमा संस्थापन पक्षका जिल्ला सभापति नागेन्द्र कुमार राय र संस्थापन ईतर पक्षका पूर्व जिल्ला सभापति लक्ष्मण राय पक्षबीचको विवादले अधिवेशन हुन सकिरहेको छैन् । २०० मध्ये १९० वटा वडाहरुमा अधिवेशन भएका छन् । त्यसमा पनि केही ठाउँमा एकपक्षिय रुपमा अधिवेशन भएको भन्दै उजुरी परेको छ । दुई पटक गोली नै चलेपछि बलराको चारवटा वडासहित केही पालिकाका वडाहरुमा अधिवेशन स्थगित भएको छ ।