logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

बशिष्ठ कुल प्रतिष्ठान हरिवनको कार्यक्रममा मुख्यमन्त्री सहभागि


  • उज्यालो अभियान

कार्यक्रममा बोल्दै मुख्यमन्त्री मो. लालबाबु राउत तथा उपस्थित अतिथिहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – बशिष्ठ कुल प्रतिष्ठान हरिवनले शनिबार बशिष्ठ आश्रम निर्माणार्थ पूर्वाधार विचर विमर्श कार्यक्रम गरेको छ ।

हरिवन नगरपालिका–८, पूरानो बजार स्थित बशिष्ठ कुल प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष रमेश भट्टराईको घरमा आयोजित कार्यक्रममा प्रदेश दुई सरकारका मुख्यमन्त्री मो. लालबाबु राउतको प्रमुख आतिथ्यता रहेको थियो । आश्रम निर्माणका लागि जग्गा प्रदान गरेका तु्लसीप्रसाद भट्टराईको अध्यक्षता रहेको कार्यक्रममा बशिष्ठ कुल प्रतिष्ठानका जिल्ला अध्यक्ष डोरप्रसाद भट्टराई तथा बुद्धिजीवि पार्थमणि भट्टराईले प्रतिष्ठानको तथा प्रतिष्ठानले निर्माण गर्न लागेको आश्रमका बारेमा प्रश्टयाउँदै स्वागत मन्तव्य राखेका थिए ।

सुरेश भट्टराईको सञ्चालन रहेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले आफ्नो गोत्र, पितृ, धर्म, वंशावलीहरुलाई सम्झदै संगठीत भएर यस्ता रचनात्मक काममा अग्रसर हुनु साह्रै राम्रो काम भएको उल्लेख गरे । आफ्नो बंशावलीको खोजविन तथा अध्ययन एवं उत्थानमा लागि पर्नु र छलफलका साथ समाजमा थप रचनात्मक काममा अग्रसर हुनु सह्रानीय भन्दै मुख्यमन्त्री राउतले आश्रम निर्माणका लागि प्रदेश सरकारले पनि यथाशक्य सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा बोल्दै हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेलले पनि नगरपालिकाबाट समेत आश्रम निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाईन् ।

कार्यक्रममा प्रतिष्ठानलाई जग्गा दिने तुलसीप्रसाद भट्टराई/रत्नमञ्जरी भट्टराई दम्पति एवं नारायणहरि भट्टराईलाई मुख्यमन्त्री राउतले अबिर र माला लगाएर सम्मान समेत गरेका थिए । कार्यक्रममाकार्यक्रममा वीरगंज नगरपालिकाका पूर्व प्रमुख प्रदिपकुमार सुवेदी, प्राध्यापक सुशिल भट्टराई, प्रतिष्ठानका कृष्ण्प्रसाद भट्टराई, विनोद भट्टराई, महोत्तरी लगायत जिल्लाबाट समेत बशिष्ठ कुल प्रतिष्ठानका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । तुलसीप्रसाद भट्टराई बारा जिल्लामा प्रमुख जिल्ला अधिकारी हुँदा दुर्घटनामा परी मृत्यु भएका स्व. गणेशप्रसाद भट्टराईका पिता हुन् भने नारायणहरि भट्टराई नेपाली चलचित्र क्षेत्रका चर्चित निर्देशक प्रदिप भट्टराईका पिता हुन् ।

मुख्यमन्त्री राउतले प्रस्तावित आश्रम निर्माण स्थलको निरीक्षण समेत गरेका थिए । हरिवनमा प्रदेश २ स्तरीय बशिष्ठ कुलबंश आश्रम निर्माण गर्न लागिएको बताईएको छ । कार्यक्रममा मुख्यमन्त्री राउतलाई आश्रम निर्माणमा सहयोगको मागसहित लिखित माग पत्र समेत प्रदान गरिएको थियो । बशिष्ठ कुलबंशमा भट्टराई, खरेल, राउत, चालिसे लगायत विभिन्न थरीहरु पर्दछन् ।