logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

आजबाट सूरु भयो सर्लाही कांग्रेसको वडाअधिवेशन


  • उज्यालो अभियान

हरिवन – नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन अन्तर्गत आज (आईतबार) जिल्ला स्थित २०० वटै वडामा वडा तहको अधिवेशन प्रारम्भ भएको छ ।

दुई पक्षको विवादका कारण पटक–पटक सर्दै आएको वडा अधिवेशन आईतबार बिहानैबाट सूरु भएको पार्टीका नेताहरुले बताएका छन् । वडा अधिवेशन गराउन नेपाल शिक्षक संघ सम्बद्ध शिक्षकहरु मतदान अधिकृतको रुपमा गाउँ गाउँमा पुगिसकेको बताईएको छ । नेपाल शिक्षक संघका अध्यक्ष यमनाथ उप्रेतीले सबै वडामा मतदान अधिकृतहरु खटिईसकेको जानकारी दिए । ‘केही वडा बाहेक अधिकांश वडामा हिजो दिउँसै मतदान अधिकृत तोकेर सामानहरु समेत दिईसकिएकाले उहाँहरु आज बिहानै वडा वडामा गईसक्नु भएको छ’, आईतबार बिहान उज्यालो अभियानसँग उप्रेतीले भने, ‘विविध कारणले शनिबार राती अबेर केही वडामा खटाईएका शिक्षक साथिहरु पनि जाँदै हुनुहुन्छ, सम्भवतः अहिलेसम्म सबैजना पुगेर २०० वटै वडामा अधिवेशन प्रकृया सूरु गरिसक्नु भएको हुनुपर्छ ।’

जिल्ला स्थित १५० वटा भन्दा बढी वडामा सर्बसम्मत रुपमा वडा तहको नेतृत्व चयन हुने कांग्रेस नेताहरुले दाबी गरेका छन् । सर्बसम्मत हुन नसकेका वडाहरुमा भने मतदान मार्फत नै नेतृत्वको टुंगो लगाईने छ । वडा अधिवेशनले वडा सभापति सहित वडा कार्यसमिति चयन गर्नेछ भने पालिका नेतृत्व, प्रदेश सभा नेतृत्व, क्षेत्रीय नेतृत्व एवं प्रदेश महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवशेन प्रतिनिधि सहित जिल्ला कार्यसमिति चयन गर्नका लागि हरेक वडाबाट क्रियाशिल सदस्य संख्याका आधारमा कम्तिमा १५ जना क्षेत्रीय प्रतिनिधि चयन गर्नेछ ।

वडा अधिवेशनहरुको अवस्थाबारे थप बुझ्न पटक–पटक फोन गर्दा जिल्ला निर्वाचन अधिकृत भरत राउतको भने मोबाईल उठेन । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जिल्लाभर वडा अधिवेशन भईरहेको खबर आएको जानकारी दिए । ‘अहिलेसम्म कतै वादविवादको कुरा सुन्नमा आएको छैन’, प्रउ प्रसाईंले भने, ‘जिल्लाभर शान्तिपूर्ण रुपमै वडा अधिवेशन प्रकृया अगाडी बढिरहेको सुनिएको छ ।’

गत शुक्रबार राती अबेर लालबन्दी स्थित यूनाईटेड होटल ईननमा सम्पन्न दुई पक्षबीचको छलफलले आज (आईतबार) वडा अधिवेशन गर्ने सहमति गरेको थियो । अधिवेशन गराउन केन्द्रबाट खटाइएका निर्वाचन अधिकृत भरत राउतको रोहबरमा जिल्ला सभापति नागेन्द्र कुमार राय र पूर्व जिल्ला सभापति लक्ष्मण राय समूहबीच सहमति भएपछि आईतबारबाट सर्लाही कांग्रेसको अधिवेशन प्रकृया अगाडी बढेको हो ।

सहमति अनुसार मंसिर १२ गते आईतबार वडा अधिवेशन गर्ने, प्रदेश नम्बर दुई अर्थात प्रदेश स्तरीय अधिवेशन सरेमा १४ गते मंगलबार पालिका स्तरीय अधिवेशन गर्ने र उक्त अधिवेशन नसरेमा भने सो दिन पालिका स्तरीय अधिवेशन स्थगित गरी प्रदेश सभा स्तरीय अधिवेशन गर्ने, १५ गते बुधबार क्षेत्रीय अधिवेशन गर्ने र १७ गते शुक्रबार जिल्ला अधिवेशन हुनेछ ।

शुक्रबारको वार्तामा जिल्ला सभापति नागेन्द्र कुमार रायको पक्षबाट केन्द्रीय सदस्य जंगिलाल राय, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह, क्षेत्र नम्बर ३ का अध्यक्ष पुण्यहरि घिमिरे, लालबन्दी नगरपालिका–७ का वडाध्यक्ष सुरेन्द्र कुमार न्यौपाने, रुपेश कुमार यादव लगायत सहभागि थिए भने पूर्व जिल्ला सभापति लक्ष्मण रायको तर्फबाट जिल्ला उपसभापति रामवलि राय, जिल्ला सचिव नवीन अधिकारी, पूर्व जिल्ला उपसभापति विनोद खनाल, नेपाल शिक्षक संघका पूर्व जिल्ला अध्यक्ष कौशलकिशोर राय, युवा नेता बलीराम झा, रविनन्दन चौधरी लगायत सहभागि थिए ।

सर्लाही कांग्रेसका जिल्ला सभापति नागेन्द्र कुमार राय प्रधानमन्त्री एवं पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा समूह अर्थात संस्थापन पक्ष र पूर्व जिल्ला सभापति लक्ष्मण राय वरिष्ठ नेता रामचन्द्र पौडेल समूह अर्थात संस्थापन ईतर पक्षका हुन् । यी दुवै समूहको विवादका कारण सर्लाहीमा पटक–पटक वार्ता र सहमति भएपनि जिल्ला अधिवेशन सर्दै आएको थियो ।

दुई समूहबीच यसअघि मतदान अधिकृत खटाउने र निर्वाचन अधिकृतको कार्यालय राख्ने विषयमा विवाद हुँदा दुईजना निर्वाचन अधिकृत जिल्ला अधिवेशन प्रकृया नै गराउन नसकी फर्किएका थिए । गत शनिबार केन्द्रीय निर्वाचन समितिले दुवै पक्षका नेताहरुलाई बोलाएर ४ दिनसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल पश्चात गत मंगलबार सहमति गराई जिल्ला पठाएको थियो ।

यसअघि खटाइएका निर्वाचन अधिकृत विनोद कार्की र दीवाकर राज पाण्डे दुई पक्षबीचको विवादले गर्दा अधिवेशन गराउन नसक्ने भन्दै राजिनामा दिएर गएका थिए । दोस्रो पटक खटाइएका निर्वाचन अधिकृत पाण्डेमाथि कांग्रेसको एक समूहले वडा अधिवेशन घोषणा गरिएको दिन मंसिर २ गते सदरमुकाम मलंगवामा छलफल चलिरहेका बेला हातपात नै गरेको थियो । दुवै पक्षले एकअर्का माथि अधिवेशन गराउन नचाहेको आरोप लगाउँदै आएको थियो ।

तेस्रो पटक खटाइएका निर्वाचन अधिकृत राउतले पनि काठमाडौंमा भएको सहमति अनुसार शुक्रबार मंसिर १० गते जिल्लाको २० वटा पालिकाका २०० वटै वडामा वडाअधिवेशन गराउने तयारी गरेका थिए । उनले गत विहिबार मतदान अधिकृतहरुलाई मलंगवामा तालिम समेत दिएर वडामा खटाउने तयारी गरेका थिए । तर दुई समूहबीच फेरि क्रियाशील सदस्यता थपिएको अनि मतदान अधिकृत खटाउने विषयमा विवाद उत्पन्न भएपछि शुक्रबार भनिएको वडा अधिवेशन अचानक स्थगित भएको थियो ।

पटक–पटक वडा अधिवेशनको मिति तोकेर पनि स्थगित हुँदा कांग्रेस सर्लाहीका आम कार्यकर्तामा अन्यौलता र नैराश्यता बढ्दै गएको थियो । ७७ वटा जिल्लामध्ये सर्लाहीमा मात्रै कांग्रेसको अधिवेशन प्रक्रिया अघि बढ्न सकेको थिएन ।