logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

कांग्रेस सर्लाहीमा फेरि अर्काे सहमति : आईतबार वडा अधिवेशन हुने


  • उज्यालो अभियान

शुक्रबार राती अबेरसम्म कांग्रेसको दुई समूहबीच वार्ता चलिरहेको लालबन्दीस्थित होटल यूनाईटेड ईनन् । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी – सर्लाही कांग्रेसको जिल्ला अधिवेशन पर्सी (आईतबार) बाट प्रारम्भ हुने भएको छ । आज (शुक्रबार) राती लालबन्दीमा सम्पन्न दुई पक्षबीचको छलफलले आईतबार वडा अधिवेशन गर्ने सहमति गरेको छ । यस्तो सहमति कांग्रेसको दुवैपक्ष बीच यो तेस्रो पटक भएको हो ।

अधिवेशन गराउन केन्द्रबाट खटाइएका निर्वाचन अधिकृत भरत राउतको रोहबरमा जिल्ला सभापति नागेन्द्र कुमार राय र पूर्व जिल्ला सभापति लक्ष्मण राय समूहबीच युनाईटेड होटल ईनन् डुमडुमेमा दिउँसोदेखि भएको छलफलमा राती अबेर पौने १० बजे सहमति जुटेको छ ।

निर्वाचन अधिकृत राउतका अनुसार मंसिर १२ गते आईतबार वडा अधिवेशन गर्ने, प्रदेश नम्बर दुई अर्थात प्रदेश स्तरीय अधिवेशन सरेमा १४ गते मंगलबार पालिका स्तरीय अधिवेशन गर्ने र उक्त अधिवेशन नसरेमा भने सो दिन पालिका स्तरीय अधिवेशन स्थगित गरी प्रदेश सभा स्तरीय अधिवेशन गर्ने, १५ गते बुधबार क्षेत्रीय अधिवेशन गर्ने र १७ गते शुक्रबार जिल्ला अधिवेशन गर्ने सहमति भएको छ । भोली (शनिबार) मतदान अधिकृतको रुपमा खटिने शिक्षकहरुलाई तालिम दिने तथा निर्वाचन सामग्री उपलब्ध गराउनु पर्ने भएकाले आईतबार वडा अधिवेशन गराउने सहमति भएको निर्वाचन अधिकृत राउतले जानकारी दिए । ‘प्राय वडामा मतदान अधिकृत यसअघि नै तय भईसक्नु भएको छ’, निर्वाचन अधिकृत राउतले उज्यालो अभियानसँग शुक्रबार राती भने, ‘अब नपुग भएका केही वडामा भने भोली गोला गरेर मतदान अधिकृत खटाईने छ ।’ बैठकमा भएकाे विस्तृत निर्णय भाेली उपलब्ध गराउने समेत निर्वाचन अधिकृत राउतले जानकारी दिए ।

वार्तामा जिल्ला सभापति नागेन्द्र कुमार रायको पक्षबाट केन्द्रीय सदस्य जंगिलाल राय, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह, क्षेत्र नम्बर ३ का अध्यक्ष पुण्यहरि घिमिरे, लालबन्दी नगरपालिका–७ का वडाध्यक्ष सुरेन्द्र कुमार न्यौपाने, रुपेश कुमार यादव लगायत सहभागि थिए भने पूर्व जिल्ला सभापति लक्ष्मण रायको तर्फबाट जिल्ला उपसभापति रामवलि राय, जिल्ला सचिव नवीन अधिकारी, पूर्व जिल्ला उपसभापति विनोद खनाल, नेपाल शिक्षक संघका पूर्व जिल्ला अध्यक्ष कौशलकिशोर राय, युवा नेता बलीराम झा, रविनन्दन चाैधरी लगायत सहभागि थिए ।

सर्लाही कांग्रेसका जिल्ला सभापति नागेन्द्र कुमार राय प्रधानमन्त्री एवं पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा समूह अर्थात संस्थापन पक्ष र पूर्व जिल्ला सभापति लक्ष्मण राय वरिष्ठ नेता रामचन्द्र पौडेल समूह अर्थात संस्थापन ईतर पक्षका हुन् । यी दुवै समूहको विवादका कारण सर्लाहीमा पटक–पटक वार्ता र सहमति भएपनि जिल्ला अधिवेशन सर्दै आएको थियो ।

दुई समूहबीच यसअघि मतदान अधिकृत खटाउने र निर्वाचन अधिकृतको कार्यालय राख्ने विषयमा विवाद हुँदा दुईजना निर्वाचन अधिकृत जिल्ला अधिवेशन प्रकृया नै गराउन नसकी फर्किएका थिए । गत शनिबार केन्द्रीय निर्वाचन समितिले दुवै पक्षका नेताहरुलाई बोलाएर ४ दिनसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल पश्चात गत मंगलबार सहमति गराई जिल्ला पठाएको थियो ।

यसअघि खटाइएका निर्वाचन अधिकृत विनोद कार्की र दीवाकर राज पाण्डे दुई पक्षबीचको विवादले गर्दा अधिवेशन गराउन नसक्ने भन्दै राजिनामा दिएर गएका थिए । दोस्रो पटक खटाइएका निर्वाचन अधिकृत पाण्डेमाथि कांग्रेसको एक समूहले वडा अधिवेशन घोषणा गरिएको दिन मंसिर २ गते सदरमुकाम मलंगवामा छलफल चलिरहेका बेला हातपात नै गरेको थियो । दुवै पक्षले एकअर्का माथि अधिवेशन गराउन नचाहेको आरोप लगाउँदै आएको थियो ।

तेस्रो पटक खटाइएका निर्वाचन अधिकृत राउतले पनि काठमाडौंमा भएको सहमति अनुसार आज (शुक्रबार) मंसिर १० गते जिल्लाको २० वटा पालिकाका २०० वटै वडामा वडाअधिवेशन गराउने तयारी गरेका थिए । उनले हिजो (विहिबार) मतदान अधिकृतहरुलाई मलंगवामा तालिम समेत दिएर वडामा खटाउने तयारी गरेका थिए । तर दुई समूहबीच फेरि क्रियाशील सदस्यता थपिएको अनि मतदान अधिकृत खटाउने विषयमा विवाद उत्पन्न भएपछि आज (शुक्रबार) भनिएको वडा अधिवेशन अचानक स्थगित भएको थियो ।

पटक–पटक वडा अधिवेशनको मिति तोकेर पनि स्थगित हुँदा कांग्रेस सर्लाहीका आम कार्यकर्तामा अन्यौलता र नैराश्यता बढ्दै गएको छ । ७७ वटा जिल्लामध्ये सर्लाहीमा मात्रै कांग्रेसको अधिवेशन प्रक्रिया अघि बढ्न सकेको छैन् । शुक्रबार राती भएको सहमति अनुसार अब जिल्ला अधिवेशन प्रकृया पूर्ण रुपमा अगाडी बढ्ने दुवै पक्षका नेताहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।