लालबन्दी – नेकपा एमाले सर्लाहीले आजदेखि चितवनमा सुरु हुने पार्टीको १० औँ महाधिवेशनमा यहाँबाट १६ हजारको हाराहारीमा कार्यकर्ताहरु लगेको छ ।
एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहले कार्यकर्ताहरुलाई चितवन लगेर ल्याउनका लागि गएराती अबेरसम्ममा करिव डेढ सयवटा ठूला बसहरु रिर्जभ गरिएको जानकारी दिए । यस्तै, १३५ वटा भन्दा बढी स्कारपियो र अन्य दर्जनौँ साना जीप तथा कारहरुमा नेता कार्यकर्ताहरु चितवन प्रस्थान गरेका जिल्ला अध्यक्ष साहले बताए ।
साहका अनुसार रिर्जभ गरिएका बसहरुमध्ये कतिपय राती नै र केही आज बिहान चितवनका लागि हिँडेका छन् । आज दिउँसो महाधिवेशनको उद्घाटन सत्र सकिएपछि रिर्जभ गरिएका बसहरु पुनः कार्यकर्ता लिएर आजै राती सर्लाही आइपुग्ने छ ।
नेकपा एमाले सर्लाहीको केही दिनअघि हरिपुरमा बसेको बैठकले नै महाधिवेशनमा १६ हजार कार्यकर्ता चितवन लाने निर्णय गरेको थियो ।