लालबन्दी – सर्लाहीका कांग्रेसीहरुको काठमाण्डौंमा आइतवार दोस्रो दिन भएको वार्ता पनि बिना निष्कर्ष टुंगिएको छ ।
आइतवार जिल्ला सभापति नागेन्द्र कुमार रायको तर्फबाट वर्तमान जिल्ला सचिव उपेन्द्र कुशवाहा र पूर्व जिल्ला सभापति लक्ष्मण रायको पक्षबाट अर्का वर्तमान जिल्ला सचिव नवीन अधिकारी वार्तामा बसेका थिए । पार्टी कार्यालय सानेपामा केन्द्रीय निर्वाचन समितिका पदाधिकारीसहित भएको वार्ताले कुनै निष्कर्ष भने निकाल्न सकेन् ।
दुई समूहबीचको विवादका कारण सर्लाहीमा काँग्रेसको अधिवेशन प्रक्रिया नै अघि बढ्न सकिरहेको छैन् । अहिले मुख्यत : कुन वडामा कस्लाई मतदान अधिकृत बनाएर खटाउने भन्नेमा विवाद छ ।
स्रोतका अनुसार अब केन्द्रबाटै निर्वाचन अधिकृतसहित वडा स्तरमा खटिने मतदान अधिकृतको पनि टुंगो लगाएर पठाउने गरी छलफल अघि बढेको छ । यसबारेमा सोमवार बिहान ८ बजे पुनः दुवै पक्षका नेताहरुलाई छलफलका लागि बोलाइएको काँग्रेसका एक नेताले उज्यालो अभियानलाई बताए ।
जिल्लामा विवाद नमिलेपछि सर्लाही काँग्रेसका दुवै समूहका नेताहरु काठमाण्डौं पुगेका छन् । यसअघि शनिवार पनि एक चरण दुवै समूहसँग केन्द्रीय निर्वाचन समितिका पदाधिकारीहरुले छलफल गरेका थिए ।