logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

कांग्रेस सर्लाहीको अधिवेशन गराउन खटाइएका अर्का निर्वाचन अधिकृतको पनि राजिनामा


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीमा नेपाली काँग्रेसको अधिवेशन गराउन खटाइएका दोस्रो निर्वाचन अधिकृतले पनि राजिनामा दिएका छन् ।

नेपाली काँग्रेसको १४ आँै महाधिवेशनका लागि गठित केन्द्रीय निर्वाचन समितिले सर्लाही जिल्ला अधिवेशन गराउन खटाएको निर्वाचन अधिकृत दिवाकर राज पाण्डेले सुक्रवार दिउँसो राजिनामा बुझाएर काठमाण्डौं फर्किएका हुन् । पहिलो पटक खटाइएको निर्वाचन अधिकृत विनोद कार्की दुई पक्षको विवादले अधिवेशन गराउन नसक्ने भन्दै कात्तिक २६ गते राजिनामा बुझाएर गएपछि केन्द्रीय निर्वाचन समितिले कात्तिक २७ गते पाण्डेलाई नयाँ निर्वाचन अधिकृतको रुपमा सर्लाही पठाएको थियो ।

वडा अधिवेशन गराउन सहमतीको प्रयास गर्दा गर्दै काँग्रेसकै एक समूहले बिहिवार आफू माथिनै हातपात गरेपछि पाण्डे पनि अधिवेशन गराउन नसक्ने भन्दै राजिनामा बुझाएर फर्किएका हुन् । आफूले दुवै पक्षलाई सहमतीमा ल्याएर अधिवेशन गराउन अथक प्रयास गरेपनि सम्भव नभएको पाण्डेले बताए ।

उल्टै आफूमाथि काँग्रेस नेता कार्यकर्ताले कुटपीट गर्दा दुःख लागेको पाण्डेले उज्यालो अभियानसँगको कुराकानीमा गुनासो गरेका छन् । दोस्रो पटक खटाइएको निर्वाचन अधिकृतले पनि राजिनामा दिएपछि सर्लाहीमा काँग्रेसको अधिवेशन अब झनै अन्यौलमा परेको छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले सर्लाहीमा भरै भोलीमै अर्को निर्वाचन अधिकृत खटाइने उज्यालो अभियानसँग बताएका छन् । सर्लाहीमा काँग्रेसका जिल्ला सभापति नागेन्द्र कुमार राय र पूर्व जिल्ला सभापति लक्ष्मण राय पक्षबीचको विवादले अधिवेशन प्रक्रिया नै अघि बढ्न सकेको छैन् ।

बिहिवारका लागि तय भएको वडा अधिवेशन दुई पक्षका नेताबीच कुटाकट र निर्वाचन अधिकृतमाथि नै हातपात भएपछि स्थगित भएको थियो । पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापति नागेन्द्र कुमार राय र केन्द्रीय वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका पूर्व जिल्ला सभापति लक्ष्मण राय पक्षबीचको विवाद झनझन उग्र बन्दै गएको छ ।

जिल्ला सभापतिका दाबेदार समेत रहेका राय द्वोयबीच पछिल्लो पटक वडा स्तरमा आफू निकटका शिक्षकलाई मतदान अधिकृत बनाएर खटाउने विषयमा विवाद देखिएको छ ।