लालबन्दी – सर्लाहीमा बिहिवार (आज) हुने भनिएको नेपाली काँग्रेसको वडा अधिवेशन अन्यौलमा परेको छ ।
मतदान अधिकृत खटनपटनमा विवाद देखिएपछि वडा अधिवेशन अनिश्चित बनेको हो । मुख्यत ः क्षेत्र नं. ४ मा मतदान अधिकृत खटाउने विषयमा विवाद भइरहेको छ । त्यस क्षेत्रका लागि गोला प्रथाबाट मतदान अधिकृतहरु छानिएपनि कस्लाई कहाँ खटाउने भन्नेमा विवाद देखिएको हो ।
वुधवार जिल्लाभरका २० पालिकाको २०० वटा वडाका लागि २२० जना शिक्षकलाई मतदान अधिकृतको रुपमा छानिएको छ । २२० मध्ये २०० जनालाई प्रत्येक वडामा खटाईने र २० जनालाई वैकल्पिकमा राखिने छ ।
जिल्ला सभापति नागेन्द्र कुमार राय र पूर्व जिल्ला सभापति लक्ष्मण रायले आफू निकटका शिक्षकहरुलाई आफूले चाहेको ठाउँमा खटाउन खोज्दा सहमती हुन सकिरहेको छैन् । वुधवार राती अबेरसम्म नै यसबारेमा छलफल भएपनि सहमती जुट्न सकेन् । बिहिवार पनि जिल्लामा पार्टीको नेतृत्व गर्ने शिर्ष नेताहरुबीच सहमतीको प्रयास हुँदैछ ।
वडा अधिवेशनको अन्तिम तयारी भइसकेको अवस्थामा मतदान अधिकृतमै विवाद भई अधिवेशन नै अन्यौलमा परेपछि नेतृत्वका आकांक्षी र काँग्रेसका आम कार्यकर्ता अन्यौलमा परेका छन् । कात्तिक २९ गते निर्वाचन अधिकृत दीवाकर राज पाण्डेले दुवै समूहका नेताहरुलाई राखेर मंसिर २ गते वडा अधिवेशन गर्ने र त्यसपछि क्रमैसँग पालिका, प्रदेश, संघीय र जिल्ला अधिवेशन गर्ने सहमती गराएका थिऐ । त्यो सहमती अनुसार बिहिवार वडा अधिवेशन नहुने संम्भावना बढेर गएको छ ।