लालबन्दी – नेकपा एमाले सर्लाहीले आसन्न दशौँ महाधिवेशनका लागि सर्लाहीका ४ वटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन गरेको छ । सोमबार साँझ क्षेत्र नम्बर ३ को महाधिवेशन प्रतिनिधि चयनसँगै एमाले सर्लाहीले जिल्ला स्थित ४ वटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन प्रकृया सम्पन्न गरेको हो ।
सोमबार साँझ नेकपा एमाले जिल्ला सह–ईन्चार्ज बद्री प्रसाद न्यौपाने र जिल्ला अध्यक्ष राजनारायण साहले संयुक्त रुपमा जारी गरेको विज्ञप्ति अनुसार क्षेत्र नम्बर ३ बाट रेवती पन्त, राजकुमार उप्रेती, कल्पना कटुवाल र शम्भु पासवानलाई महाधिवेशन प्रतिनिधिको रुपमा चयन गरिएको छ । क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिका लागि ४४ जनाले दाबी गरेपनि जिल्ला हाईकमाण्डले ४ जनालाई तोकेको हो ।
त्यस्तै जिल्लाको क्षेत्र नम्बर १, २ र ४ बाट भने यसअघि नै महाधिवेशन प्रतिनिधि छनौट भईसकेका छन् । क्षेत्र नं. १ बाट मनोज देवकोटा, रन्जना सरकार र रामबहादुर खड्का, क्षेत्र नं. २ बाट राजनारायण साह, जय प्रकाश यादव र रेखा साह, क्षेत्र नं. ४ बाट हरि उप्रेती, रामबहादुर राय यादव र ममता देवी सिंह चयन भएका छन् । क्षेत्र नम्बर ३ मा पनि २७ जनाले महाधिवेशन प्रतिनिधिको रुपमा दाबी गरेका थिए ।
४ वटै क्षेत्रमा तोकिएको संख्या भन्दा बढी महाधिवशेन प्रतिनिधिका दाबेदार देखिएपछि जिल्ला ईन्चार्ज कमला देवी महतो, जिल्ला सह–ईन्चार्ज बद्री प्रसाद न्यौपाने र जिल्ला अध्यक्ष राजनारायण साह रहेको जिल्ला हाईकमाण्डले प्रतिनिधि तोकेको हो । केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन आयोजक समितिको सदस्य हुने भएकाले केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज कमलादेवी महतो र सह–ईन्चार्ज बद्रीप्रसाद न्यौपाने एवं ४ वटा क्षेत्रबाट चयन भएका १३ जना महाधिवेशन प्रतिनिधि सहित १५ जनाले सर्लाहीबाट नेकपा एमालेको महाधिवेशनमा सहभागिता जनाउन पाउने भएका छन् ।
संगठीत सदस्य संख्या कम भएकाले महाधिवेशन प्रतिनिधि संख्या पनि कम भएकाले कतिपय योग्य साथिहरु छुटेको भन्दै केन्द्रबाट मनोनित कोटाका लागि प्रयास भईरहेको जिल्ला अध्यक्ष राजनारायण साहले जानकारी दिए । क्षेत्र नम्बर ३ बाट पूराना कम्युनिष्ट नेता केशव ढुंगाना, हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईं सहित अन्य क्षेत्रबाट पनि प्रभावशाली नेताहरु महाधिवेशन प्रतिनिधिमा अटाउन सकेनन् । सबै क्षेत्रमा सर्बसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएको उल्लेख गर्दै हरिवन नगरका मेयर प्रसाईंले अब थप २–४ वटा मनोनित कोटाका लागि केन्द्रसँग प्रयास भईरहेको बताए ।
नेकपा एमालेको १० औँ महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते चितवनमा गर्ने तय भएको छ ।