logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

कांग्रेस सर्लाहीको अधिवेशनबारे आज पनि सहमति हुन सकेन


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा नेपाली कांग्रेसको अधिवेशनबारेको विवाद कायमै रहेको छ ।

नयाँ निर्वाचन अधिकृत दिवाकर पाण्डेले आइतवार जिल्ला आएर दुवै पक्षसँग समन्वय गरिरहेको भएपनि अधिवेशनबारे ठोस सहमति हुन सकेको छैन् । मुख्यत ः निर्वाचन अधिकृतको सचिवालय कहाँ रहने भन्नेमा विवाद देखिएको छ ।

केन्द्रीय निर्वाचन समितिले अधिवेशन गराउन खटाएको निर्वाचन अधिकृत पाण्डेलाई अहिले कुसुम पार्टी प्यालेस मलंगवामा राखिएको छ । पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण रायले निर्वाचन अधिकृत त्यहाँ बसे जिल्ला सभापतिको अनुकूल हुने र अधिवेशन निष्पक्ष नहुने भन्दै अन्यत्र राख्नुपर्ने माग गरेका छन् भने जिल्ला सभापति नागेन्द्र कुमार रायले त्यहीँ बस्नुपर्ने अडान लिएका छन् ।

यसअघिका निर्वाचन अधिकृत विनोद कार्कीले दुई पक्षबीचको विवादले अधिवेशन गराउन नसक्ने भन्दै राजिनामा दिएर गएपछि नयाँ निर्वाचन अधिकृत पाण्डे आइतवार भर्खर सर्लाही आएका हुन् । दुई गुटको विवादले शनिबार नै हुनुपर्ने कांग्रेसको वडा अधिवेशन हुन सकेन् ।

निर्वाचन अधिकृत पाण्डेले आइतवार जिल्ला आएर दुवै पक्षबीच छलफल गरे । जिल्ला सभापति नागेन्द्र कुमार रायपक्षसँग कुसुम पार्टी प्यालेसमा छलफल गरेका निर्वाचन अधिकृत पाण्डेले पूर्व सभापति लक्ष्मण राय पक्षसँग भने जिल्ला पार्टी कार्यालयमै छलफल गरेका थिए । पूर्व सभापति लक्ष्मण राय पक्षीय नेताहरुले कुनैपनि हालतमा उक्त होटलमा छलफलमा नबस्ने अडान लिएपछि सहजीकरण गरिरहेका नेपाल प्रेस युनियन सम्बद्ध पत्रकारहरुको अगुवाईमा उक्त पक्षका नेताहरुसँग निर्वाचन अधिकृत पाण्डेले पार्टी कार्यालयमै छलफल गरेका हुन् ।

छलफलका क्रममा पूर्व सभापति लक्ष्मण राय पक्षले कुसुम पार्टी प्यालेस बाहेक सदरमुकाम मलंगवा स्थित अन्य कुनैपनि होटल वा जिल्ला पार्टी कार्यालयमै निर्वाचन अधिकृतको सचिबालय सञ्चालन गर्नुपर्ने र जिल्ला निर्वाचन अधिकृतलाई पनि उक्त पार्टी प्यालेसमा राख्न नहुने अडान लिएपछि निर्वाचन अधिकृत पाण्डेले बरु पार्टी कार्यालयमै दुःख गरेर बसेर भएपनि निर्वाचन गराएरै छाड्छु भन्ने प्रतिबद्धता जनाएपछि आईतबार साँझ जिल्ला सभापति नागेन्द्र कुमार राय पक्ष सहमतिमा आएको थियो ।

निर्वाचन अधिकृतको कार्यालय लगायतमा सहमति लगतै दुवै पक्षबाट ५–५ जना बसेर निर्वाचन प्रकृयाका बारेमा वार्ता गर्ने तयारी भएपनि साँझ अबेर भएकाले सम्भव भएन । जिल्ला पार्टी कार्यालय परिसरमा रहेका पूर्व सभापति लक्ष्मण राय पक्षले सोमबार बिहान वार्ता गरौं भनेपनि नागेन्द्र पक्षले आजै सबै छलफल सकेर जतिसक्दो चाँडो निर्वाचन तालिका सार्वजनिक गर्नुपर्ने अडान लिएको थियो । निकै साँझ परेपछि जिल्ला पार्टी कार्यालय परिसरमा वार्ताका लागि नागेन्द्रकुमार राय पक्षीय वार्ता टोली पुग्ने वितिकै दुवै पक्षबीच एक्कासी भनाभन र धकेलाधकेल भएपछि निर्वाचन अधिकृत पाण्डेले सोमबार बिहानका लागि वार्ता तय गरेका छन् ।

‘रात पनि परेको र दुवैपक्षबीच एक्कासी विवाद देखिएपछि सोमबार बिहान ८ बजेपछि जिल्ला पार्टी कार्यालयमा दुवै पक्षका ५–५ जना राखेर वार्ता गराउने तयारीमा छु’, निर्वाचन अधिकृत पाण्डेले भने, ‘सोमबार बिहानको वार्ताले ठोस परिणाम दिनेमा विश्वस्त छु ।’ यता जिल्ला सभापति नागेन्द्रकुमार रायले भने अत्यन्त लचक हुँदै वार्तामा सहभागिता जनाउन गएका आफू पक्षीय नेताहरुलाई दुव्र्यबहार भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

जिल्ला सभापतिले व्यवस्थापन गरेको स्थानबाट निर्वाचन अधिकृतको कार्यालय संचालन हुने पूरानो परम्परा भएपनि सुविधा सम्पन्न कुसुम पार्टी प्यालेस होटलमा निर्वाचन अधिकृतको कार्यालय संचालन गर्न नहुने भन्ने निकृष्ट विवाद झिकिएको भन्दै जिल्ला सभापति नागेन्द्र राय पक्ष आक्रोशित बनेको छ । ‘विगतमा लक्ष्मणजी सभापति हुँदा उहाँले जहाँबाट निर्वाचन संचालन गर्दापनि मैले कुनै अब्जेक्शन गरिन’, जिल्ला सभापति रायले भने, ‘तर अहिले मैले सदरमुकाम मलंगवाकै सबैभन्दा सुविधा सम्पन्न र सुरक्षित होटलमा निर्वाचन अधिकृतज्यूलाई राखेर सचिवालय संचालन गर्दा किन यस्तो विरोध भईरहेको छ ? यदि जिल्ला पार्टी कार्यालय चालु हालतमा भईदिएको भए मैले निर्वाचन अधिकृतज्यूलाई होटलमा राखेर निर्वाचन अधिकृतको कार्यालय भने पार्टी कार्यालयबाटै सञ्चालनमा ल्याउने थिएँ ।’ अधिवेशन सम्पन्न गर्ने एजेण्डामा भन्दा भनि निर्वाचन अधिकृतलाई राखिएको होटल जस्ता झिनामसिना कुरामा बखेडा झिकेर पूर्व सभापति लक्ष्मण राय पक्ष जिल्ला अधिवेशन भाँड्ने तर्फ गएको वर्तमान जिल्ला सभापति नागेन्द्र कुमार राय पक्षको आरोप छ ।

यता लक्ष्मण राय पक्षले भने जिल्ला सभापति रायले आफू अनुकुल होटलमा निर्वाचन अधिकृतलाई राखेर निर्वाचन अधिकृतको कार्यालय समेत सञ्चालनमा ल्याउने खोजेकाले आफूहरुले विरोध गरेको बताउँदै आएको छ । लक्ष्मण पक्षले सो होटलबाट निर्वाचन सम्बन्धी कागजात सारेर निर्वाचन अधिकृत सरेपछि मात्र जिल्ला सभापति नागेन्द्र पक्षसँग छलफलमा बस्ने अडान लिँदै आएको छ ।

यसरी दुई गुटबीचको दुरी बढ्दै जाँदा सर्लाहीमा कांग्रेसको अधिवेशन नै अन्यौलमा पर्दै गएको छ ।