मलंगवा – सर्लाही कांग्रेसको जिल्ला अधिवेशनका लागि नयाँ निर्वाचन अधिकृत तोकिएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि गठिन केन्द्रीय निर्वाचन समितिले सर्लाही अधिवेशन सम्पन्न गर्नका लागि नयाँ निर्वाचत अधिकृतको रुपमा दिवाकर पाण्डेलाई खटाएको हो । पाण्डेले आफूले सर्लाही निर्वाचन अधिकृतको रुपमा पार्टी केन्द्रीय कार्यालयबाट पत्र बुझिसकेको र सर्लाही आउने तयारीमा रहेको उज्यालो अभियानलाई जानकारी दिए । ‘सम्भवत आजै राती वा भोलीसम्ममा सर्लाही आईसक्छु होला’, निर्वाचन अधिकृत पाण्डेले उज्यालो अभियानसँग शनिबार मध्यान्ह भने, ‘सरोकारवाला सबै पक्षको सहमतिमा निर्वाचन प्रकृया अगाडी बढाउने छु ।’
केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिका अनुसार सर्लाही सहित प्रदेश दुईका ८ वटै जिल्लामा आज कात्तिक २७ गते शनिबार वडा अधिवेशन हुनुपर्ने थियो । तर यसअघि सर्लाही निर्वाचन अधिकृतको रुपमा खटिएका विनोद कार्कीले हिजो शुक्रबार बिहानै एक्कासी राजिनामा दिएपछि आज शनिबार हुने भनिएको वडा अधिवेशनहरु स्थगित भएको छ ।
‘मिति २०७८/०७/१७ को पत्रले मलाई नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत सर्लाही जिल्लाको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीका साथ जिल्ला निर्वाचन अधिकृत नियुक्त गरिएकोमा सम्बन्धित जिल्ला पुगी सबै पक्षसँग छलफल गरि निर्वाचन प्रकृया अगाडी बढाउन खोजेकोमा’, तत्कालिन निर्वाचन अधिकृत कार्कीले केन्द्रीय निर्वाचन समितिलाई लेखेको राजिनामा पत्रमा भनिएको छ, ’पक्षहरुबीच सहमति नजुटी निर्वाचन हुने वातावारण नभएकाले यसमा व्यक्तिगत जिम्मेवारी लिई जिल्ला निर्वाचन अधिकृतको पदबाट आजैको मितिबाट राजिनामा दिएको व्यहोरा अनुरोध गर्दछु ।’ कार्कीले मंसिर २६ गते शुक्रबार बुझाएको राजिनामा पत्रको बोधार्थ नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीलाई समेत दिएका छन् ।
तत्कालिन निर्वाचन अधिकृत कार्कीले कसैलाई किटान नगरी पक्षहरुबीचको विवाद भनेपनि विशेष गरि जिल्ला सभापति नागेन्द्र कुमार राय र पूर्व जिल्ला सभापति लक्ष्मण राय पक्षबीचको विवादकै कारण काम गर्न कठिनाई भएको हो ।
यि दुई गुटबीच निर्वाचन अधिकृतको सचिवालयमा क–कस्लाई राख्ने र क्षेत्र, नगर र वडा स्तरमा मतदान अधिकृतका रुपमा क–कस्लाई खटाउने भन्ने विषयमा विवाद देखिएको छ । जिल्ला सभापति नागेन्द्र कुमार रायले पनि केन्द्रीय निर्वाचन समितिले नयाँ निर्वाचन अधिकृत तोकेको भन्ने खबर सुनेको र आधिकारिक जानकारी भने प्राप्त नगरिसकेको बताए । ‘अब नयाँ निर्वाचन अधिकृत आउने वितिकै सरोकारावाला पक्षहरुबीचको लिखित सहमतिमै निर्वाचत प्रकृया अगाडी बढाईने छ’ । रायले उज्यालो अभियानसँग भने ।
वडा अधिवेशन गराउन पार्टीको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा आवद्ध पत्रकारहरुले भने निरन्तर समन्वयको प्रयास गरिरहेका छन् । युनियन आवद्ध पत्रकारहरुले हिजो शुक्रबार दिनभर नै दुवै पक्षसँग सम्वाद गरेका थिए । आज शनिबार पनि दुवै पक्षसँग सम्वाद भईरहेको र नयाँ तोकिएका निर्वाचन अधिकृत आउने बितिकै दुवै पक्षका प्रतिनिधिहरुबीच बृहद छलफल गराई लिखित सहमतीका साथ अधिवेशनको प्रकृया अगाडी बढाउनका लागि प्रयास भइरहेको नेपाल प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण थपलियाले जानकारी दिए ।
पटक–पटक अधिवेशन स्थगित हुँदा कांग्रेस कार्यकर्ता तथा आगामी नेतृत्वका आकांक्षीहरुले नैराश्यता व्यक्त गरिरहेका छन् । तीहार तथा छठ पर्व मान्न काठमाडौ लगायत मुलुकका विभिन्न स्थानबाट सर्लाही झरेका तथा काम विशेषले बाहिर जानुपर्ने कांग्रेस क्रियाशिल सदस्यहरु वडा अधिवेशनको अन्यौलताले जिल्लामै अड्केर बस्नु पर्दा थप मारमा परेका छन् । सर्लाहीमा २० वटा विभिन्न पालिकामा गरि २०० वटा वडा रहेका छन् । यद्यपी कात्तिक ३० गते मंगलबार सम्म वडा अधिवेशन जसरी पनि गराउने शर्तमा पाण्डेले निर्वाचन अधिकृतको जिम्मेवारी लिएको बुझिएको छ ।