logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

सर्लाहीमा पनि नेपाल संवत् मनाइयो


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको पत्थरकोटका नेवार समुदायले नेपाल सम्वत् ११४२ को स्वागतमा सुक्रवार बिहान -याली निकालेका छन् ।

भिमशेन गुठी परिवार लालबन्दी नगरपालिका–१३, पत्थरकोटले शंखधर साख्वाःको सालिकमा माल्यार्पण गर्दै नेपाल सम्वत्का विशेषता जानकारी गराउँदै गाउँ परिक्रमा गरेको हो । पत्थरकोटमा भिमशेन गुठीको मन्दिर परिसरमा शंखधर साख्वाःको सालिक निर्माण गरिएको छ ।

उक्त शालिकमा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, लालबन्दी–१३, का वडाध्यक्ष शिवकृष्ण वैद्य लगायतले माल्यार्पण समेत गरे । नेपाल सम्वत् ११४२ न्हु दँया भिन्तुना अर्थात् नेवारी नयाँ वर्ष विशेष -याली निकालेर मनाइएको स्थानीय चन्द्रदेव श्रेष्ठले जानकारी दिए ।

यस्तै, लालबन्दी नगरपालिका–८, मा रहेको भिमेश्वर गुठीमा पनि सुक्रवार नेपाल सम्वत् ११४२ का अवसरमा शंखधर साख्वाःको तस्बीरमा माल्यार्पणसहित शुभकामना साटासाट कार्यक्रम गरिएको छ । गुठीका अध्यक्ष लिला कुमार श्रेष्ठको अध्यक्षता तथा प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जग्गादाता द्वोय सूर्य कुमार श्रेष्ठ र गणेश बहादुर श्रेष्ठ, लालबन्दी–८, का वडाध्यक्ष राजन कुमार श्रेष्ठ, वडा नं. १० का वडाध्यक्ष टोप बहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा गुठीका अध्यक्ष लिला कुमार श्रेष्ठले स्वर्गिय बुहारी पुनम श्रेष्ठको स्मृतिमा ५ थान टेबुल सहयोग गर्नुभएको छ भने प्रदेश सभा सदस्य लुंगेलीले गुठीको भवन निर्माण गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको कार्यक्रम संचालक घमराज श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए ।

लालबन्दी नगरपालिका ८ मा आयोजित कार्यक्रम ।