logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

उपचार खर्च तिर्न नसकेर बन्धक बस्नुपरेका मुसहर युवकहरु अस्पतालबाट डिस्चार्ज


  • उज्यालो अभियान

बयलवास – सर्लाहीको चन्द्रनगरका पाँच जना मुसहर युवक उपचार खर्च तिर्न नसक्दा चार दिनसम्म अस्पतालमै बन्धक भएर बस्नु परेको छ ।

केही दिनअघि भारतको उत्तर प्रदेशस्थित एक आलु भण्डारण गर्ने चिस्यान केन्द्रमा काम गर्ने तीन जना मजदुरको शङ्कास्पद मृत्यु भएको थियो । त्यसपछि गाउँ फर्किएर आएका पाँच जना युवकहरु पनि बिरामी परेपछि ईश्वरपुर नगरपालिका–७, स्थित गोदावरी अस्पताल बयलवासमा भर्ना भएका थिए ।

अस्पतालमा भर्ना भएका चन्द्रनगर गाउँपालिका–६, कामदका ती युवकहरु उपचारमा लागेको खर्च तिर्न नसक्दा डाक्टरले डिस्र्चाज गरेको चार दिनसम्म पनि अस्पतालमै बन्धक भएर बस्नु परेको हो । कात्तिक १० गते भर्ना भएका अत्यन्त विपन्न मुसहर युवकहरुलाई वुधवार दिउँसो बल्ल बुझाउन सकेकोजति केही रकम लिएर बाँकी रकम पछि दिनेगरी डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बाँकी रकम केही दिनपछि भुक्तानि दिलाउने गरी बिरामीहरुलाई अस्पतालबाट डिस्चार्ज गराइएको बताए । उनले बिरामीहरु बन्दक भएर बस्नुपरेको सम्वन्धी जानकारी प्रहरीलाई पनि ढिलोगरी आएको बताएका छन् ।

अस्पतालका अनुसार, पाँच जना युवकको आठ दिनसम्म अस्पतालमा राखेर उपचार गर्दा करिव डेढ लाख रुपियाँको बिल उठेको छ । अस्पतालका डाक्टर उमाशङ्कर गुप्ताले पाँचै जना बिरामी सुरुमा डेङ्गी लागेको भनेर उपचार गर्न आएका बताएपनि, उपचार गर्दै जाँदा अत्यधिक विषाक्त मदिरा सेवनबाट उनीहरु बिरामी परेको पाइएको बताए ।

डा. गुप्ताका अनुसार बिरामीहरुमा सुरुमा पेट दुख्ने, टाउको दुख्ने, बान्ता हुने समस्या देखिएपनि अहिले सबैको अवस्था सामान्य छ । भारतबाट मजदुरी गरेर फर्किएका युवकहरुले आफूहरुलाई मदिरा र औषधि सेवन गराई दैनिक १८÷२० घण्टासम्म काममा लगाएकाले बिरामी परेको गुनासो गरेका छन् ।

अस्पतालबाट वुधवार डिस्चार्ज भएका अजय माझीले आफूहरुलाई मदिरा र औषधिको नसामा अत्यधिक काममा पेलाइएको बताए । माझीसँगै मजदुरी गर्ने कामदका दुई जना र ईश्वरपुर भक्तिपुरका एक जनाको केही दिनअघि भारतमै मृत्यु भएको थियो ।

तीन जनाको शव यहाँ ल्याएर अन्त्येष्टि समेत गरिसकिएको छ । मृतकका परिवारले चन्द्रनगर कामदकै ठेकेदारले कामका लागि लगेर औषधि र मदिरा सेवन गराई बढी समय काममा लगाएर ज्यानै लिएको भन्दै घटनाको अनुसन्धान गरिदिन स्थानीय प्रशासन र जनप्रतिनिधि गुहारी रहेका छन् ।

गोरखापत्र अनलाईनबाट साभार ।