लालबन्दीमा आयोजित कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी – नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मंगलवार सर्लाहीको सीमावर्ती क्षेत्रमा पर्ने विष्णु गाउँपालिका–२, मधुवनगोठमा दीपावली र छठको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेविसंघ विष्णु गाउँपालिकाका सभापति सोनुकुमार कुशवाहाको अध्यक्षता तथा नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाको प्रमुख आतिथ्यतामा शुभकामना साटासाट गरिएको हो । कार्यक्रममा नेपाली काँग्रेस सर्लाहीका उपसभापति सुरेन्द्र सिंह, गाउँपालिका अध्यक्ष जवाहारलाल राय, नेविसंघ सर्लाहीका पूर्व सभापति एवं कांग्रेसका युवा नेता निरमुनी मैनाली, नेविसंघका नेता मनिष रायमाझी, पत्रकार महासंघका प्रदेश सचिव अजित कुमार सिंह लगायतको आतिथ्यता रहेको थियो ।
उता, हरिवन नगरपालिका–२, मा मंगलवार अन्य पार्टी परित्याय गरी ३० जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।
यता, लालबन्दीमा पनि मंगलवार नेपाली कांग्रेसले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नगर सभापति प्रशान्त आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य एवं पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठ र क्षेत्रीय सभापति प्रमोद बरालले मन्तव्य राखे ।
नगर समितिकी कोषाध्यक्ष सानु पाख्रिनले संचालन गरेको कार्यक्रममा पार्टीका जिल्ला सभापति नागेन्द्र कुमार राय, प्रदेश सरकारका महिला, बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह, प्रदेश सभा सदस्य उपेन्द्र कुशवाहा लगायतको पनि उपस्थिति रहेको थियो ।