पत्थरकोट – सर्लाहीको लालबन्दी नगरपालिका–१३, मा रहेको प्रहरी चौकी पत्थरकोटको नवनिर्मित भवन सुक्रवार उद्घाटन गरिएको छ ।
नेपाल सरकारको नियमित बजेटबाट निर्माण गरिएको उक्त प्रहरी चौकी भवनको प्रदेश २ का प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेश रंजितकारले उद्घाटन गरेका हुन् । मूल्य अभिवृद्धि करसहित दुई करोड ३० लाख ७४ हजार ५२२ रुपैयाँ लागतमा प्रहरी चौकीको कार्यालय भवन, ब्यारेक, मेस, शौचालय, कम्पाउण्ड वाल, मेनगेट लगायतका संरचना निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
भवनको उद्घाटन गर्दै डीआईजी रंजितकारले सुविधा सम्पन्न प्रहरी चौकी भवन निर्माण भएसँगै सेवा प्रवाहमा सहजता र प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न थप उर्जा प्रदान गरेको बताए । यस्तै, लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले भवनको अभावमा ठाउँ सार्दै हिँड्नुपर्ने प्रहरीलाई आफ्नै सुविधा सम्पन्न भवन निर्माण भएपछि अब भने ढुक्क भएको उल्लेख गरे ।
उनले लालबन्दी नगरभित्र प्रहरीका थप संरचनाहरु निर्माण गर्न सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला न्यायाधिवक्ता ऋद्धिनाथ निरौला, जिल्ला प्रहरी प्रमुख कृष्ण प्रसाई, अन्य सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधि, व्यापारी, निर्माण कम्पनिका प्रतिनिधि, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।