कार्यक्रममा उपस्थित मन्त्री सिंह र अन्य नेताहरु ।
धनकौल – प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहको निवासमा हिजो शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
क्षेत्र नं. ४ स्थित धनकौल गाउँपालिका वडा नं. २ मा मन्त्री सिंहकै निवासमा बडा दशैँ, दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान गरिएको हो । नेपाली कांग्रेसका क्षेत्रीय सभापति राम आश्रय साहको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य जंगिलाल रायको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पूर्वमन्त्री एवं पार्टीका आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, जिल्ला सभापति नागेन्द्र राय, प्रदेश सभा सदस्य उपेन्द्र कुशवाहा, पूर्व सभासद् हरेश महतो, बरहथवा नगरपालिकाको मेयरका पत्यासी रन्जन दास लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका वक्ताहरुले मन्त्री सिंहले आफ्नो निर्वाचन क्षेत्रमा गरेका विकास निर्माणका कामको चर्चा गर्दै नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर अघि बढनु पर्नेमा जोड दिएका छन् ।