logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

नेकपा (एकीकृत समाजवादी) सर्लाहीको जिल्ला कमिटी घोषणा, अध्यक्षमा लामा


  • उज्यालो अभियान

समाजवादीका अध्यक्ष सुरेन्द्र लामा ।

लालबन्दी – लामो रस्साकस्सीपछि नेकपा (एकीकृत समाजवादी) पार्टीको सर्लाही जिल्ला कमिटी घोषणा भएको छ ।

प्रदेशको निर्णयलाई अनुमोदन गर्दै केन्द्रीय कमिटीले जिल्ला कमिटी घोषणा गरेको हो । त्यसअनुसार पार्टीको जिल्ला अध्यक्षमा सुरेन्द्र लामा तोकिएका छन् । लामा घुर्कौली निवासी हुन् ।

यसैगरी, उपाध्यक्षमा मलंगवाका देवेन्द्र यादव र सचिवमा परवानिपुरका गोविन्द अधिकारी चुनिएका छन् । हरिपुर नगरपालिकाका मेयर समेत रहेका जमिरुदिन मन्सुरलाई सहसचिवमा सिफारिस गरिएपनि उनलाई केन्द्रीय निकायमा राखिएको छ । सहसचिव पद अहिले खाली राखिएको छ ।

पार्टीका प्रदेश २ का सचिव लक्ष्मण पौडेलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनको बाटो अबलम्बन गर्दा घोषणा गरिएको ३०१ सदस्यीय संघर्ष कमिटीलाई नै जिल्ला कमिटी घोषणा गरिएको उज्यालो अभियानसँग बताए । त्यसमा अध्यक्ष रेवती पन्त अहिले ओलीतिरै लागेपछि अध्यक्ष फेरिएको पौडेलले बताए ।

३०१ कमिटीमध्ये माधव कुमार नेपालको नेतृत्वमा पार्टी दर्ता भएपछि हरिवनमा केही साताअघि जिल्ला भेला आयोजना गर्दा दुई तिहाई सदस्य उपस्थित भएका पौडेलको दावी छ । उनले अब सपथ ग्रहण पश्चात जिल्ला कमिटीको अन्तिम नामावली तयार हुने जानकारी दिए ।

यसअघि एकीकृत समाजवादीको जिल्ला इन्चार्जमा प्रदेश सभा सदस्य समेत रहेका रवीन्द्र बैठा र सहइन्चार्जमा प्रदेश सभा सदस्यहरु नै रहेका बेची लुंगेली र डिल्ली प्रसाद उप्रेती तोकिएका छन् ।