हरिवन – माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले भदौ २७ गते सर्लाहीको हरिवनमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला गर्ने भएको छ ।
पार्टीका केन्द्रीय सदस्य लक्ष्मण पौडेलले बिहिवार प्रेस वक्तव्य जारी गर्दै सोही भेलाबाट पार्टीको जिल्ला कमिटी पुनर्गठन गर्ने समेत उल्लेख गरेका छन् । पार्टीका केन्द्रीय स्तरका नेताहरुबाट सम्वोधन हुने उक्त भेलामा पार्टीको तत्कालिन जिल्ला कमिटीका सदस्य, पार्टी निकट जनप्रतिनिधि, पार्टी नेता, अगुवा कार्यकर्ता, जनवर्गिय संगठनका पदाधिकारीलाई आमन्त्रण गरिएको नेता पौडेलले बताए ।
पौडेलले जारी गर्नुभएको प्रेस वक्तव्यमा २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको निरन्तरता नै यो पार्टीको पुनर्गठन भएको उल्लेख गरेका छन् ।
वक्तव्यमा ‘ठूलो बलिदानबाट आएको नेपालको संविधान एवं व्यवस्थालाई असफल पार्ने पटक–पटकका प्रयास, जननिर्वाचित संसदमाथि गैर कानुनी कु गरी निरन्तर शाशक बन्ने लालसा, शैद्धान्तिक विचलन, सामन्ति सँस्कृतिको विकास, खुल्लामखुल्ला भ्रष्टाचारका काण्डहरु, जालझेल–षडयन्त्र–गालिगलौच, दम्भ–घमण्ड–अहंकारको पराकाष्ठा, पार्टी नेता–कार्यकर्ता–जनप्रतिनिधिमाथि पूर्वाग्राही कारवाही जस्ता अनेकौँ घटनाक्रमलाई चिर्दै यो पार्टी श्रमजीवी जनताको हितमा पुनर्गठित हुन सफल भएको छ ।’ भनिएको छ ।