logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

कांग्रेस नेता थपलियाको निधनपछि विपी जयन्तिको कार्यक्रम स्थगित


  • उज्यालो अभियान

लालबन्दी – नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०८ औँ जन्मजयन्तीका अवसरमा बिहिवार साँझ लालबन्दीमा आयोजना गरिएको दीप प्रज्वलनको कार्यक्रम स्थगित गरिएको छ ।

लालबन्दी नगरपालिका–५, रन्जितपुर स्थायी घर भई हाल लालबन्दी–७, स्थित बजारमा बस्दै आएका नेपाली कांग्रेसका पुराना नेता एवं क्रियाशील सदस्य सूर्य प्रसाद थपलिया (शम्भु) को असमायिक निधनपछि विपी जन्मजयन्तिमा आयोजित दीप प्रज्वलनको कार्यक्रम स्थगित गरिएको हो । विपी कोइराला युवा नेतृत्व विकास मंच सर्लाहीले दीप प्रज्वलनको कार्यक्रम राखेपनि थपलियाको निधनपछि अन्तिम समयमा आएर कार्यक्रम स्थगित गरिएको मंचका जिल्ला अध्यक्ष मनोज बख्रेलले बताए ।

६८ वर्षीय स्वर्गिय थपलिया लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । उनको बिहिवार साँझ बागमती नदीमा अन्त्येष्टि गरिएको छ । थपलियाको पार्थिव शरीरमा कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, कांग्रेस नगर सभापति प्रशान्त आचार्य, नेताहरु सुरेन्द्र न्यौपाने, दीपक अधिकारी, विष्णुमणि घिमिरे लगायतले पार्टीको चारतारे झण्डा ओढाएर श्रद्धान्जली व्यक्त गरे ।