केही दिनअघि निर्वाचन कार्यालय मलंगवामा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न पुगेका हरिपुरका मेयर, उपमेयरसहितका जनप्रतिनिधि ।
मलंगवा – निर्वाचन आयोगले सर्लाहीसहित देशभरका जनप्रतिनिधिलाई दल रोज्न दिएको समयावधी मंगलवार सकिएको छ ।
राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश आएपछि विभाजित भएका एमाले र जसपाका जनप्रतिनिधिले दल रोज्ने समयावधि मंगलवार साँझ ५ बजेबाट सकिएको हो । २० प्रतिशत सांसद तथा केन्द्रीय सदस्य भएकै आधारमा दल विभाजन गर्न मिल्ने गरी सरकारले अध्यादेश ल्याएपछि नेकपा एमालेका नेता माधव कुमार नेपाल र जनता समाजवादीका महन्थ ठाकुरले नयाँ दल दर्ता गराएका छन् ।
त्यसअनुसार सर्लाहीसहित देशभरमा नेता माधव कुमार नेपाल निकट रहनु भएकाहरुले एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा र महन्थ ठाकुर निकट रहेका जनप्रतिनिधिहरुले जसपा छाडेर लोकतान्त्रिक समाजवादी (लोसपा) को पक्षमा सनाखत गरेका छन् । जिल्ला निर्वाचन कार्यालय मलंगवाका अनुसार सर्लाहीमा १३९ जनाले लोकतान्त्रिक समाजवादी र ४८ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।
एमालेका प्रदेश सभा सदस्यहरु बेची लुंगेली, डिल्ली प्रसाद उप्रेती र रवीन्द्र बैठा तीनै जनाले एकीकृत समाजवादीमा छन् । तीनजनामध्ये दिल्लीमा भर्खरै उपचार गराएर आएका प्रदेश सांसद उप्रेतीले मंगलवार मात्रै जनकपुरस्थित प्रादेशिक निर्वाचन कार्यालयमा पुगेर सनाखत गरे ।
त्यसैगरी स्थानीय पालिकाहरुमा भने हरिपुर नगरपालिकाका मेयर, उपमेयरसहित त्यहाँका केही र लालबन्दी, हरिवन तथा बागमतीका केही वडाध्यक्ष एवं वडा सदस्यहरुले एमाले छाडेर नेकपा एकीकृत समाजवादी रोजेखका छन् । लालबन्दीका मेयर मानबहादुर खड्का, उपमेयर, हरिवनका मेयर गणेश प्रसाद प्रसाई, उपमेयर रेणुका पौडेल, ईश्वरपुरका मेयर मनोज देवकोटा, उपमेयर एकाबती चौधरी लगायतका जनप्रतिनिधिहरु भने एमालेमै बसेका छन् ।
सर्लाहीमा एमालेका संघीय सांसद छैनन् । त्यसैगरी, राजपाबाट निर्वाचित दुवै संघीय सांसदहरु प्रमोद साह र महेन्द्र यादव जसपामा बसेका छन् ।
त्यस्तै, राजपाका ८ मध्ये ५ जना प्रदेश सभा सदस्यहरु पनि जसपामै बसेका छन् । यसबाट सर्लाहीमा केन्द्र र प्रदेशमा जसपा बलियो देखिएको छ ।
राजपाका प्रदेश सांसदहरु अशोक यादव, सन्जय यादव, सन्चमाया मोक्तान, निरा कुमारी साह र प्रदेश सरकारको मन्त्री समेत रहेका राम नरेश साह जसपामै छन् । उपेन्द्र महतो, गौरीनारायण साह र निलमदेवी भुमिहारनीले मात्रै लोसपा रोजेका छन् ।
त्यसैगरी, स्थानीय तहमा भने लोसपा बलियो देखिएको छ । राजपाबाट जितेका ७ वटा पालिकाका प्रमुखमध्ये ५ जना लोसपामा लागेका छन् ।
बलरा नगरपालिकाका मेयर अभय कुमार सिंह, गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादव, कौडेना गाउँपालिकाका अध्यक्ष राम प्रसाद यादव, ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष विनोद कुमार साह र चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतो लोसपामा छन् ।
कविलासीका मेयर कौशल किशोर राय जसपामा बसेका छन् भने फोरमबाट जितेका पर्सा गाउँपालिकाका अध्यक्ष किसुन देव रायले पनि जसपानै रोजेका छन् ।