प्रतिकात्मक तस्बीर ।
लालबन्दी – सर्लाहीमा शनिवार राती परेको ठूलो पानीपछि जिल्लाभर विद्युत् अवरुद्ध भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रका प्रमुख जयानन्द झाले चन्द्रनिगाहपुरबाट ल्याइएको ३३ केभी प्रशारण लाईनमै समस्या आएपछि जिल्लाभरको विद्युत् अवरुद्ध भएको उज्यालो अभियानसँग बताए । उनले अहिलेसम्म फल्ट पत्ता नलागेको बताएका छन् ।
तर बागमती पारी पौराहीसम्म बत्ती चालू नै रहेकाले सर्लाहीतर्फको बत्ती सूचारु हुन धेरै समय नलाग्ने वितरण केन्द्रका प्रमुख झाले बताए । उनले लालबन्दी र मलंगवा वितरण केन्द्रको बत्ती सूचारु हुन केही समय लागेपनि बरहथवा वितरण केन्द्र अन्तर्गतको बत्ती भने केही समयपछि नै चालू हुने बताए ।
उनका अनुसार राती निरन्तर पानी परिरहेकाले बिहान उज्यालो भएपछि मात्रै प्राविधिकहरुलाई पेट्रोलिङमा खटाइएको थियो । अहिले बरहथवा, मलंगवा र लालबन्दी तीनवटै वितरण केन्द्रका प्राविधिकहरु फिल्डमा नै रहेका छन् ।
सर्लाहीमा चन्द्रनिगाहपुरदेखि लामो जंगल छिचोलेर ल्याइएको ३३ केभी लाईनमा सामान्य हावाहुरी र पानीले बत्ती जाने समस्या छ ।
यसैबीच, शनिवार रातीको पानीपछि जिल्लामा विभिन्न क्षेत्र जलमग्न भएका छन् । होँचो भूभाग, जिर्ण अवस्थामा रहेको पूर्व–पश्चिम हुलाकी सडक, अन्य भित्री सडक र हाटबजार जलमग्न र हिलाम्मे भएका छन् ।