मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा बिहिवार प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको जिल्ला स्तरीय सम्वाद समितिको बैठक सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको कार्यक्रममा केन्द्रले गर्दै आएको कामहरुको उपलब्धी, चूनौती र सिकाईका बारेमा चर्चा गरिएको थियो । छैठौं चरणमा केन्द्रले गर्दै आएका कामहरुको प्रगति र छनौट गर्न बाँकी रहेका द्वन्द्वको बारेमा केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले सहभागिहरुलाई जानकारी गराईन् ।
छैठौं चरणमा ५ वटा द्वन्द्व समाधान गर्नुपर्ने लक्ष्य रहेको, जसमा दुईवटा समाधानका प्रक्रियामा रहेको र तीनवटा वटा द्वन्द्व छनौट गर्न बाँकी रहेको स्रोत व्यक्ति विश्वकर्माले बताईन् । १ अक्टुबर २०२० देखि सुरु भएको छैठौं चरण ३० सेप्टेम्बर २०२२ मा सम्पन्न हुने पनि उनले जानकारी दिईन् ।
कोभिडका कारण द्वन्द्व समाधानमा केही ढिलाई भएको विकले बताईन् । उनले कोभिड १९ को समयमा जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकामा केन्द्रले खाद्यान्न र स्वास्थ सुरक्षा सामाग्री सहयोग गरेको समेत बताईन् ।
स्थानीय तहसँग समन्वय गरी नेपाल मास्क अभियान पनि गरेको छ । बैठक जिल्ला समन्वय समिति सर्लाहीकी उपप्रमुख जमुना पराजुलीको अध्यक्षतामा संचालन गरिएको थियो ।
जसमा मलंगवा नगरपालिकाका मेयर निरसल साह, चन्द्रनगर गाउँपालिकाकी उपाध्यक्ष बिना देवी, प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, मालपोत कार्यालय प्रमुख मलंगवाका पन्नेलाल यादव, जिल्ला बार एशोसियसनका अध्यक्ष नरेश चौधरी, प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।