logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

खोला बाढी नरोकिँदा चुरेभेगमा गाडी चल्न सकेनन्


  • उज्यालो अभियान

नारायण खोलामा खाद्यान्न लिएर जाँदा खोलामा फसेको ट्याक्टर । (तस्बीर : उज्यालो अभियान)

नारायण खोला – सर्लाहीको चुरेभेगमा चल्ने सवारी साधन यो वर्ष निरन्तर अवरद्ध भएका छन् ।


वर्षा नरोकिँदा खोलाको बगर भएर चुरेका बस्तीहरुसम्म पुग्ने सवारी साधन चल्न सकिरहेका छैनन् । बाँके र लखन्देही खोला हुँदै त्यसभेगमा पुग्ने सवारी साधन लामो समयदेखि ठप्प भएका हुन् ।


जिल्लाको दुर्गम भेगमा पर्ने नारायण खोला, पिपल दमार, शीर कालिन्जोर लगायतका क्षेत्रमा गएको असारदेखि नै गाडी चल्न नसकेको हो । त्यहाँ कहिलेकाँही खाद्यान्न बोकेका ट्याक्टर भने जाने गरेका छन् ।


तर बारम्बार बाढी आइरहने भएकाले खाद्यान्न बोकेर जाने ट्याक्टर पनि फस्ने गरेको स्थानीयहरुको भनाई छ । लालबन्दी नगरपालिका वडा नं. १४ नारायण खोलाका वडाध्यक्ष सुबाई सिंह ब्लोनले यो वर्ष अत्यधिक वर्षा हुँदा चुरेका वासिन्दालाई समस्या परिरहेको बताए ।


गाडी नचलेका कारण स्थानीय कोही बिरामी परे झोलुंगोमा हालेर स्वास्थ्य संस्थासम्म पु¥याउने गरिएको छ । नारायण खोलाको सत्रकठ्ठा गाउँका गंगा मगरले पैदल हिँडेर बजार वा अस्पतालसम्म आउँदा खोला बाढी आएर बगाउने त्रास रहेको बताए ।


यस्तै, दिनहुँजसो भइरहेको वर्षाले सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडकसहित अन्य भित्री सडकहरु अत्यधिक हिलाम्मे भएका छन् । त्यसैगरी, पूर्व–पश्चिम राजमार्ग र पुलहरुमा खाल्डाखुल्डीका कारण सवारी दुर्घटना बढेको ट्राफिक प्रहरीले जनाएको छ ।