बरहथवा – सर्लाहीको बरहथवाबाट ३ राउण्ड गोली लोड भएको नलकटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय बरहथवाबाट गस्तीमा निस्किएको प्रहरी टोलीले सोमवार मध्यराती बरहथवा नगरपालिका–६, स्थित प्रहरी बिट नजिक चौकबाट मोटरसाइकलमा हिँडिरहेका युवकहरुलाई हतियारसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा बागमती नगरपालिका–८, का २८ वर्षीय अरुण लामा र सोही ठाउँका वर्ष २८ कै अगबर अन्सारी रहेका छन् ।
उनीहरुलाई बीआर ३० जे ३०८० नम्वरको मोटरसाइकलमा बरहथवा बजारतर्फ जाँदै गर्दा पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
प्रहरीको मोवाइल गस्ती टोलीले राती नियमित गरिने चेकजाँचका क्रममा युवकहरु चढेको मोटरसाइकल रोकेर खानतलासी लिँदा मोटरसाइकलको बाँया साईडको लेगार्डमा झुड्याइएको झोलाबाट एक थान नलकटुवा पेस्तोल र ३ राउण्ड गोली बरामद् गरेको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डीएसपी उद्धव सिंह भाटले उज्यालो अयिभानसँग बताए ।
उनका अनुसार हतियारसहित पक्राउ परेकामध्ये अरुण लामा लागूऔषध मुद्वाका फरार अभियुक्त समेत हुन् । अरुण र अगबर दुवैलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको डीएसपी भाटले जानकारी दिए ।
तीन दिनअघि मात्रै सदरमुकाम मलंगवाबाट दाईसँग झगडा गरिरहेका एक युवक पेस्तोलसहित पक्राउ परेका थिए ।