लालबन्दी – सर्लाही रानिगन्जकी १४ वर्षीया बालिका प्रियंका भुजेलको शव मंगलवार अपरान्ह परिवारले बुझेका छन् ।
लालबन्दी नगरपालिका–१७, रानिगन्जका वडाध्यक्ष नवराज अधिकारीले आफू बालिकाको परिवारका सदस्यसँगै शव लिएर लालबन्दी आइपुगिसकेको उज्यालो अभियानसँग बताए । ‘ शव लिएर लालबन्दी आइसकेका छौँ, अब कालिन्जोर खोलामा लगेर अन्त्येष्टि गछौँ’ वडाध्यक्ष अधिकारीले भने, ‘प्रियंकाको बुवा लगायत हामी सबै सँगै छौँ ।’
गत वुधवार नै पोष्टमार्टम गरिएको प्रियंकाको शव जिल्ला अस्पताल मलंगवामै रहेको थियो । प्रहरीले सोमवार प्रियंकाको हत्यामा संलग्न दुई युवकलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेपछि परिवारका सदस्य मंगलवार शव बुझ्न तयार भएका हुन् ।
घटनामा संलग्न लालबन्दी नगरपालिका–१७, रानिगन्जकै १९ वर्षीय अनिष दाहाल र वर्ष १९ कै कृष्ण साहलाई सोमवार साँझ जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।