मलंगवा – जिल्ला प्रमुखहरुको टोलीले मंगलवार सर्लाहीको लखन्देही खोलाले कटान गरेको विभिन्न स्थानको निरीक्षण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, जनताको तटबन्ध कार्यालय हरिपुरका प्रमुख रवीन्द्र शर्मासहितको टोलीले कटानको निरीक्षण गरेको हो । त्यसक्रममा प्रमुख जिल्ला अधिकारी महतोले हरिपुर नगरपालिका–९, पिडारी ढापटोलमा भइरहेको कटान रोक्न जनताको तटबन्ध कार्यालय हरिपुरका प्रमुखलाई निर्देशन दिएका छन् ।
प्रजिअ महतोले स्थानीय तहसँग समन्वय गरी वुधवारबाटै तटबन्ध कस्ने काम सुरु गर्न निर्देशन दिएका हुन् । यस्तै, निरीक्षणका क्रममा कौडेना गाउँपालिका ६ सक्रौलमा नयाँ बन्दै गरेको पुल कटान गरिरहेको पाइएको छ ।
त्यहाँ तत्कालै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा पुल कटान रोक्नका लागि बाँधको अस्थायी तटबन्ध बनाउने भएका छन् । यसैगरी, जिल्लाको टोलीले चक्रघट्टा गाउँपालिका–१, शिवनगरमा पनि लखन्देही खोलाले गरिरहेको कटानको निरीक्षण गरेको छ ।
शिवनगरमा भने कटान रोक्नका लागि खोलालाई साबिककै अवस्थामा फर्काउने काम सुरु भइसकेको पाइएको छ । निरन्तरको वर्षापछि लखन्देहीले ठाउँ–ठाउँमा कटान गरेपछि जिल्ला प्रमुखहरुको टोलीले मंगलवार निरीक्षण गरेको हो ।