logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्बसाधारणलाई उद्धार गर्ने सुरक्षाकर्मीकै कार्यालय डुबानमा


  • उज्यालो अभियान

विहिबार रातभर परेको अविरल वर्षाले डुबानमा परेको प्रहरी चौकी औरहीको कार्यालय भवन परिसर । (तस्बिर : उज्यालो अभियान)

चक्रघट्टा – विहिबार रातभर परेको अविरल बर्षाका कारण सर्लाहीको चक्रघट्टा गाउँपालिकाको औरही स्थित प्रहरी चौकी भवन डुबेको छ ।

वर्षामा परेको पानीको निकास नहुँदा उक्त प्रहरी चौकी भवन पटक–पटक यसरी डुबानमा पर्दै आएको छ । चक्रघट्टा गाउँपालिका वडा नं. ८ औरही स्थित प्रहरी चौकी जलमग्न बनेपछि जमेको पानी तानेर बाहिर फाल्न दमकल पठाईसकिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । पहिला देखि नै डुबानमा पर्ने समस्या रहेकाले उक्त चौकीमा कार्यालय सञ्चालन त्यहीबाट हुदै आएपनि कार्यरत सुरक्षाकर्मीहरुको बास बस्ने व्यवस्था भने छेउको अर्को घरमा मिलाईएको थियो ।

त्यस्तै भारतीय सिमाक्षेत्र स्थित प्रहरी चौकी खुटौनामा पनि वर्षाको पानीले जलमग्न बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत विगतमा पूरै डुबानमा पर्ने गरेपनि केही समयअघि पर्खालको व्यवस्था मिलाईएकाले अहिले भने सामान्य डुबानमा परेको प्रहरीले जनाएको छ ।

यस्तै रातभरको वर्षाले प्रमुख जिल्ला अधिकारी निवास तथा पूरानो जिल्ला प्रशासन कार्यालय भवन परिसर पनि डुबानमा परेको छ । निवास वरिपरि जलमग्न भएकाले निवासबाट कार्यालय निस्कनै समस्या भएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयको नयाँ भवन बनाउन सूरु भएकाले केही समययता कार्यालय सञ्चालन भने जिल्ला समन्वय समितिको कार्यालय छेउको भवनबाट भईरहेको छ । जिल्लाका केही ठाउँहरु डुबानमा परेको प्रारम्भिक खबर आएपनि विस्तृत विवरण भने नआईसकेको प्रजिअ महतोले जानकारी दिए ।

जिल्लाका विभिन्न स्थानमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरी ईकाई भवनहरु जीर्ण र निकै वर्षअघि बनेको घरमा रहेकाले हरेक वर्षायाममा डुबानमा पर्दै आएका छन् ।