दुर्घटनामा संलग्न ट्रक र घटनास्थलमा खटिएका सुरक्षाकर्मीहरु । (तस्बिर : उज्यालो अभियान)

नवलपुर – टिफरको ठक्करबाट एकजना साईकल यात्रीको मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुर बजार क्षेत्र साँढे २ घण्टादेखि तनावग्रस्त बनेको छ ।
दुर्घटना लगतै स्थानीयले ट्रकलाई नियन्त्रणमा लिएर तोडफोड एवं आगजनीको प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । अनियन्त्रित भिड नियन्त्रणका लागि ४ सेल अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।
प्रहरीले अश्रुग्याँस प्रहार गरेर तितर बितर पारेको भिड अहिले केही पश्चिम नवलपुर चोकमा जम्मा भएर राजमार्गमा प्रदर्शन गरिरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार शुक्रबार दिउँसो साँढे २ बजे पूर्वबाट पश्चिमतर्फ आईरहेको ना. ७ ख ८२९३ नम्बरको टिफरले सोही दिशाबाट साईकलमा घाँस बोकेर आईरहेका स्थानीय रामनरेश महतोलाई ठक्कर दिएको थियो । नवलपुर बजार स्थित सर्लाही लाईफलाईन अस्पतालन नजिक पूर्व–पश्चिम राजमार्गमा टिफरको ठक्करबाट लालबन्दी नगरपालिका–२ निवासी ४० वर्षीय महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । साईकलको पछाडी लामो भागमा रहेको घाँसमा ठक्कर लागेपछि महतो अनियन्त्रित भई राजमार्गमा लडेको र टिफरको पछाडीको चक्काले किचेको ट्राफिक प्रहरीले जनायो । मृतक महतोको शव अहिले पनि राजमार्गमै रहेको छ ।
घटना लगतै स्थानीयले नवलपुर बजार स्थित पूर्व–पश्चिम राजमार्ग अवरोध गरेका छन् । आक्रोशित स्थानीयले टिफर नियन्त्रणमा लिएर तोडफोड एवं आगजनी समेत गर्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । राजमार्ग अवरोधमा स्थानीय महिलाहरुको भिड भएकाले बल प्रयोग गरेर अवरोध हटाउन समस्या भईरहेको प्रहरीले जनाएको छ । स्थानीयले टिफरमा सामान्य तोडफोड भने गरेका छन् ।
लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्का लगायतको उपस्थितीमा पीडित पक्ष सहित स्थानीयसँग छलफल गरेर अवरोध हटाउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक गिरीले जानकारी दिए । गिरीका अनुसार ट्रक चालकलाई नियन्त्रणमा लिईएको र थप अनुसन्धान भईरहेको छ ।